विराटनगर–मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिको आयोजनामा तथा विराटनगर महानगरपालिकाको सहयोगमा सञ्चालित तीनदिने ‘प्रभावकारी सार्वजनिक प्रस्तुतीकरण तथा कार्यक्रम सञ्चालन सीप विकास तालिम’ सम्पन्न भएको छ।
महिला उद्यमीहरूको नेतृत्व क्षमता, सार्वजनिक प्रस्तुतीकरण, वक्तृत्वकला तथा कार्यक्रम सञ्चालनसम्बन्धी सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तालिममा मोरङ जिल्लाका २५ जना महिला उद्यमीको सहभागिता रहेको थियो।
जेठ २९ देखि ३१ गतेसम्म सञ्चालन गरिएको तालिममा प्रभावकारी सार्वजनिक प्रस्तुतीकरण, वक्तृत्वकला, सञ्चार सीप, आत्मविश्वास अभिवृद्धि, कार्यक्रम सञ्चालनका विधि तथा व्यावहारिक अभ्यासका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
तालिम उद्घाटन समारोहमा महिला उद्यम समितिकी सह–संयोजक साधना झाको सभापतित्व तथा मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल सारडाको प्रमुख आतिथ्यता रहेको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै सारडाले महिला उद्यमीहरूलाई व्यवसाय सञ्चालनसँगै आफ्ना विचार र उत्पादनलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने क्षमता विकास गर्नु आजको आवश्यकता भएको बताए। यस्ता सीपमूलक तालिमले महिला उद्यमीहरूको आत्मविश्वास वृद्धि गरी व्यवसाय प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने उनको भनाइ थियो।
तीन दिनसम्म सञ्चालन भएको तालिममा ए वन मिडिया प्रालिका सञ्चारकर्मी तथा प्रशिक्षक भागिरथकुमार पोखरेलले सहजीकरण गरेका थिए। तालिममा सहभागीलाई सैद्धान्तिक ज्ञानसँगै सार्वजनिक रूपमा आत्मविश्वासका साथ बोल्ने तरिका, कार्यक्रम सञ्चालनका आधारभूत तथा उन्नत सीप, शारीरिक भाषा (बडी ल्याङ्ग्वेज), आवाजको प्रभावकारी प्रयोग, प्रस्तुतीकरण कला तथा श्रोतासँग संवाद स्थापित गर्ने विषयमा व्यावहारिक अभ्यास गराइएको थियो।
समापन समारोहमा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले तालिमबाट प्राप्त ज्ञान, अनुभव तथा सीपले महिला उद्यमीहरूको व्यवसायिक र व्यक्तिगत जीवनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। उद्यमशीलता विकासका लागि प्राविधिक ज्ञानसँगै प्रभावकारी सञ्चार तथा प्रस्तुतीकरण सीप पनि उत्तिकै आवश्यक रहेको उल्लेख गर्दै उनले आगामी दिनमा यस्ता तालिमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा संघका महासचिव संजयकुमार श्रेष्ठले तालिमबाट प्राप्त ज्ञान र सिकाइलाई व्यवहारमा उतार्दै महिला उद्यमीहरूले व्यवसायिक तथा सामाजिक क्षेत्रमा अझ सक्रिय भूमिका निर्वाह गर्न सक्ने क्षमता विकास भएको बताए।
महिला उद्यम समितिकी सह–संयोजक साधना झाले महिला उद्यमीहरूको क्षमता विकास र सशक्तीकरणका लागि यस्ता तालिम अत्यन्त महत्वपूर्ण रहेको बताइन्। उनले तालिमबाट सहभागीहरूको भाषणकला, सार्वजनिक प्रस्तुतीकरण तथा कार्यक्रम सञ्चालन क्षमतामा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने विराटनगर महानगरपालिका, प्रशिक्षक तथा सम्पूर्ण सहभागीप्रति धन्यवाद ज्ञापन गरिन्।
तालिममा सहभागी महिला उद्यमीहरूले सार्वजनिक रूपमा बोल्ने आत्मविश्वास, कार्यक्रम सञ्चालनका व्यावहारिक सीप तथा व्यवसाय प्रवर्द्धनका लागि आवश्यक प्रस्तुतीकरण कला हासिल भएको प्रतिक्रिया दिएका थिए। उनीहरूले आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमलाई निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिले महिला उद्यमीहरूको नेतृत्व विकास, व्यवसायिक क्षमता अभिवृद्धि तथा उद्यमशीलता प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

