विराटनगर–युवा तथा विद्यार्थीलाई सीप, करियर र उद्योगसँग जोड्ने उद्देश्यले उद्योग संगठन मोरङको आयोजनामा भएको ‘सीप उत्सव २०८३’ सम्पन्न भएको छ। कार्यक्रम स्विस सरकारको आर्थिक सहयोग, इन्स्योर/हेल्भेटास नेपालको प्राविधिक सहयोग तथा कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको समन्वयमा आयोजना गरिएको थियो।
‘सीपका लागि उद्योग, करियरका लागि भविष्य’ भन्ने मूल नारासहित आयोजित उत्सवमा झापा, मोरङ र सुनसरीका २५ विद्यालय तथा प्राविधिक शिक्षालयका एक हजारभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो। उत्सवलाई विद्यार्थीको करियर यात्राका रूपमा डिजाइन गरिएको थियो, जहाँ सहभागीहरूले विभिन्न सिकाइ क्षेत्रमार्फत आफ्ना रुचि, क्षमता, सम्भावित करियर तथा उद्योगसँगको सम्बन्धबारे प्रत्यक्ष अनुभव हासिल गरेका थिए।
समापन कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले उद्योग क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको अभाव तथा शिक्षाबाट उत्पादित जनशक्तिको सीपबीच रहेको दूरी कम गर्ने उद्देश्यले संगठनले अप्रेन्टिसिप कार्यक्रम र सीप उत्सवजस्ता अभियान सञ्चालन गर्दै आएको बताए। उनले विद्यार्थीलाई उद्योगको वास्तविक वातावरण, करियर सम्भावना तथा सीप विकासका अवसरसँग प्रत्यक्ष रूपमा जोड्न कार्यक्रम सफल भएको उल्लेख गर्दै दक्ष जनशक्ति विकासमा निजी क्षेत्र पनि सक्रिय हुनुपर्ने धारणा राखे।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रामप्रसाद महतो ले सीपयुक्त जनशक्ति निर्माण आजको आवश्यकता भएको उल्लेख गर्दै उद्योग र शिक्षाबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने बताए। उनले युवालाई रोजगारी खोज्ने मात्र नभई अवसर सिर्जना गर्ने दिशामा अघि बढ्न प्रेरित गर्दै यस्ता कार्यक्रमले प्रदेशमा उद्यमशीलता र नवउद्यम विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
उद्योग संगठन मोरङका कार्यसमिति सदस्य तथा मानव संसाधन विकास समितिका संयोजक दीपक अग्रवालले उत्सवमा सञ्चालन गरिएका १० वटा सिकाइ तथा अनुभवात्मक जोनले विद्यार्थीलाई करियर परीक्षण, करियर परामर्श, उद्योग अवलोकन, प्रत्यक्ष सीप प्रदर्शन, नवप्रवर्तन र उद्यमशीलतासँग जोड्ने अवसर प्रदान गरेको बताए। उनले कार्यक्रमबाट विद्यार्थीमा सीपमूलक शिक्षा र करियरप्रति सकारात्मक सोच विकास भएको विश्वास व्यक्त गरे।

उत्सवअन्तर्गत प्रेरणादायी सत्र, करियर परीक्षण, करियर काउन्सिलिङ, करियर ट्री, ‘मेरो देश, मेरै उत्पादन’, प्रत्यक्ष तालिम अनुभव, सीप प्रतिस्पर्धा तथा नवप्रवर्तन एवं उद्यमशीलता प्रदर्शनीलगायत गतिविधि सञ्चालन गरिएका थिए।
सीप प्रतिस्पर्धाअन्तर्गत अटोमोबाइलतर्फ महमोहन स्मृति पोलिटेक्निक, हात्तीमुडाका मोहम्मद जेसन अन्सारी, होटल व्यवस्थापनतर्फ नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालय, इटहरीकी आकृति पौडेल तथा सूचना प्रविधितर्फ कन्काई पोलिटेक्निकका मनिष घिमिरे प्रथम हुँदै ‘स्किल आइकन २०८३’ घोषित भए। विजेताहरूलाई अध्यक्ष नन्दकिशोर राठी तथा सामाजिक विकासमन्त्री रामप्रसाद महतोले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले नवउद्यमशीलता र दक्ष जनशक्ति विकासका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए। उनले स्थानीय स्तरमा दक्ष जनशक्ति उत्पादन र रोजगारीका अवसर विस्तार गर्न साझेदारीको खाँचो औँल्याए।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन शारडाले सीप उत्सवले विद्यार्थीलाई सीप, उद्योग, रोजगारी, उद्यमशीलता तथा नवप्रवर्तनसँग जोड्दै सीपदेखि करियरसम्मको यात्रालाई व्यवहारिक रूपमा अनुभव गराएको बताए।
मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साहले विद्यार्थीलाई आफ्नो भविष्यप्रति स्पष्ट दृष्टिकोण बनाउन तथा स्थानीय अवसरहरूको पहिचान गर्न सीप उत्सव प्रभावकारी भएको धारणा राखे।
कार्यक्रममा कोशी प्रदेशका विभिन्न प्राविधिक शिक्षालय, निजी क्षेत्रका संघ–संस्था, विकास साझेदार, विद्यालय तथा कलेजका शिक्षक, विद्यार्थी र अभिभावकको उल्लेखनीय सहभागिता रहेको थियो।

