विराटनगर – पर्यटनमा फोटो पत्रकारिताको महत्व विषयक एकदिने अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। खबरपलपल डटकम प्रालिको आयोजना तथा पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशको सहयोगमा आयोजित कार्यक्रममा मोरङ जिल्लाका ५० भन्दा बढी पत्रकारहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा कमल रिमालले पत्रकारिताको सशक्त पक्षका रूपमा फोटो पत्रकारिता रहेको उल्लेख गर्दै फोटो पत्रकारिताबिना पर्यटनको प्रभावकारी प्रवर्द्धन सम्भव नहुने बताए। उनले पर्यटनसँग सम्बन्धित आकर्षक तस्बिरहरू खिचेर विभिन्न सञ्चारमाध्यम तथा फोटो प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन सकिए नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुग्ने धारणा व्यक्त गरे।

IMG_9634

नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी महासचिव हिमा चेम्जोङले नेपालका धेरै पर्यटकीय गन्तव्यहरू अझै पनि ओझेलमा परेको बताउँदै तिनको प्रचारप्रसार र प्रवर्द्धनमा फोटो पत्रकारहरूको भूमिका महत्वपूर्ण रहने उल्लेख गरिन्। उनले फोटो पत्रकारहरूलाई थप व्यावसायिक बनाउन नियमित प्रशिक्षण आवश्यक रहेको बताउँदै एआईको युगमा पनि तस्बिरको महत्व झन् बढ्दै गएको धारणा राखिन्।

नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य लिलाबल्लभ घिमिरेले फोटो पत्रकारहरूले तस्बिरको माग र बजारको अवस्था बुझेर काम गर्न सके यस क्षेत्रबाट पनि राम्रो आम्दानी गर्न सकिने बताए। उनले कान्तिपुर दैनिकमा लामो समय काम गर्दाको अनुभव सुनाउँदै सामान्य क्यामेराबाट समेत उत्कृष्ट तस्बिर खिच्न सकिने बताए।

IMG_9661

नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदितले समाचारलाई विश्वसनीय र प्रभावकारी बनाउन फोटोको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै पर्यटन प्रवर्द्धनमा पनि तस्बिरको योगदान अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले फोटोको माध्यमबाट नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने भन्दै फोटो पत्रकारहरूलाई समयानुकूल तालिम र आधुनिक उपकरण उपलब्ध गराउनुपर्नेमा जोड दिए।

IMG_9639

मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साहले समाजमा पत्रकारिता र फोटो पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताए। उनले फोटो पत्रकारहरू घटनास्थलमै पुगेर जोखिम मोलेर वास्तविकता बाहिर ल्याउने भएकाले उनीहरूको भविष्य सुरक्षित गर्न राज्यले आवश्यक नीति ल्याउनुपर्ने धारणा व्यक्त गरे।

पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशका उपसचिव कृष्णकुमार न्यौपानेले फोटो पत्रकारितामार्फत पर्यटन क्षेत्रमा धेरै काम गर्न सकिने भए पनि एकदिने तालिमभन्दा लामो अवधिका प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सके अझ प्रभावकारी उपलब्धि हासिल गर्न सकिने बताए। उनले कार्यक्रमको सफलताको शुभकामना समेत व्यक्त गरे।

IMG_9683

नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकले यस्ता तालिमले पत्रकारहरूलाई थप व्यावसायिक र दक्ष बनाउन सहयोग पुग्ने बताइन्। उनले पछिल्लो समय सरकारी नीतिका कारण निजी क्षेत्रका सञ्चारमाध्यमहरू सरकारी विज्ञापनबाट वञ्चित हुनुपरेको उल्लेख गर्दै सरकारले पत्रकार तथा सञ्चार क्षेत्रका जायज मागहरू सम्बोधन गर्नुपर्ने धारणा राखिन्। उनले ‘एउटा तस्बिरले हजार शब्द बोल्छ’ भन्ने भनाइ स्मरण गराउँदै पत्रकारिता मात्र नभई पर्यटन प्रवर्द्धनमा पनि फोटोको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताइन्।

IMG_9667

कार्यक्रममा मन्त्रालयका लेखा प्रमुख पेशल पौडेलको समेत उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन पत्रकार सन्तोष बास्तोलाले गरेका थिए भने फोटो पत्रकार समूह कोशी प्रदेशका अध्यक्ष गुरु ढकालले फोटो पत्रकारितालाई पर्यटनसँग जोडेर कसरी प्रभावकारी रूपमा काम गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए।