विराटनगर, जेठ २८ — उद्योग तथा व्यवसाय क्षेत्रमा आवश्यक दक्ष जनशक्ति र बजारमा उपलब्ध मानव स्रोतबीच रहेको सीपको अन्तरलाई सम्बोधन गर्ने उद्देश्यले उद्योग संगठन मोरङले ‘सीप उत्सव २०८३’ आयोजना गर्ने भएको छ।
संगठनको आयोजनामा, स्विस सरकारको आर्थिक सहयोग, इन्स्योर/हेल्भेटास नेपालको प्राविधिक सहयोग तथा कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको समन्वयमा उक्त उत्सव आगामी जेठ ३१ गते आइतबार विराटनगरस्थित उद्योग संगठन मोरङको सचिवालयमा आयोजना हुन लागेको हो।
बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुने उत्सवमा अन्तर–शिक्षालय सीप प्रतियोगिता, विभिन्न विधाका लाइभ तालिम, करियर काउन्सेलिङ तथा वृत्ति परामर्शलगायतका कार्यक्रम सञ्चालन गरिनेछन्। साथै, सोही दिन अपराह्न ४ः३० बजे अन्तिम चरणको सीप प्रतियोगितामा उत्कृष्ट हुने प्रतियोगीलाई पुरस्कार वितरण गरिने संगठनले जनाएको छ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीका अनुसार उत्सवले तालिम प्रदायक संस्था, उद्योग प्रतिष्ठान, सरकारी निकाय तथा प्रशिक्षार्थीबीच समन्वय र सहकार्यलाई थप सुदृढ बनाउनेछ। यसले उद्योगको आवश्यकता अनुरूप दक्ष जनशक्ति उत्पादन, रोजगारीका अवसरको सुनिश्चितता तथा स्वदेशमै पर्याप्त रोजगारीका सम्भावना रहेको सन्देश प्रवाह गर्न मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे।
उनले उत्सवमार्फत स्वदेशमा उपलब्ध सीप विकासका अवसरबारे जानकारी गराउनुका साथै प्राविधिक शिक्षा र अप्रेन्टिसिप कार्यक्रमको महत्वबारे सचेतना अभिवृद्धि हुने तथा सीपयुक्त जनशक्तिको माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सहयोग पुग्ने बताए।
संगठनका कार्यसमिति सदस्य तथा मानव संसाधन विकास समितिका संयोजक दीपक अग्रवालका अनुसार उत्सवमा सूचना प्रविधि, होटल व्यवस्थापन तथा अटोमोबाइल विषयमा सीप प्रतियोगिता सञ्चालन हुनेछ। त्यस्तै, माटाका भाँडावर्तन निर्माण, प्लम्बिङ, इन्डस्ट्रियल अटोमेसन, सीसीटीभी, थ्रीडी प्रिन्टिङ तथा ग्रिन स्किल्स सम्बन्धी लाइभ तालिमसमेत प्रदान गरिनेछ। विद्यार्थी तथा युवाहरूका लागि करियर काउन्सेलिङ र वृत्ति परामर्श सत्र पनि सञ्चालन गरिने उनले जानकारी दिए।
उत्सवमा सूचना प्रविधि, होटल व्यवस्थापन तथा अटोमोबाइल इन्जिनियरिङ अध्ययनरत विद्यार्थी, उद्योग प्रतिष्ठानका प्रतिनिधि, प्राविधिक शिक्षालय तथा सूचना प्रविधि र आतिथ्य (हस्पिटालिटी) क्षेत्रसँग सम्बन्धित प्रदेश तथा जिल्ला तहका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ।
उद्योग संगठन मोरङले ‘सीप उत्सव २०८३’ ले व्यावसायिक सीप विकास, करियर मार्गदर्शन तथा उद्योग–शिक्षा सहकार्यलाई संस्थागत गर्दै प्राविधिक तथा व्यावसायिक शिक्षा प्रणालीलाई उद्योगमैत्री, व्यवहारिक र रोजगारमुखी बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरेको छ।

