विराटनगर – मोरङ उद्योग व्यापार संघको परिसरमा रहेको नेपाल वातावरणीय सेवा केन्द्रको प्रयोगशालाका लागि विराटनगर महानगरपालिकाले करिब एक लाख रुपैयाँ बराबरका सामग्री हस्तान्तरण गरेको छ ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी तथा वरिष्ठ उपाध्यक्ष अनिल साहको उपस्थितिमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले प्रयोगशाला प्रमुख निशा वाल्मिकीलाई विभिन्न केमिकल, प्रिन्टर, अनलाइन युपिएस लगायतका सामग्री हस्तान्तरण गरेका हुन्।
सामग्री हस्तान्तरण कार्यक्रममा मेयर कोइरालाले प्रयोगशालाको स्तरवृद्धिका लागि महानगरपालिकाले आवश्यक सहयोग जारी राख्ने बताउँदै विराटनगरमा यस स्तरको परीक्षण प्रयोगशाला हुनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे।
उक्त प्रयोगशाला सन् २००२ मा फिनल्यान्ड सरकारको सहयोगमा सञ्चालित सीमएन (SIEMN) परियोजनाअन्तर्गत करिब तीन करोड रुपैयाँको लागतमा स्थापना गरिएको हो। औद्योगिक, घरेलु तथा कृषि क्षेत्रसँग सम्बन्धित पानी, माटो, हावा, ध्वनि तथा खाद्य पदार्थको प्रदूषण मापन गर्ने उद्देश्यले प्रयोगशाला स्थापना गरिएको थियो।
प्रयोगशालाका प्रशासन प्रमुख सुरज सापकोटाका अनुसार सुनसरी–मोरङ औद्योगिक करिडोरका विभिन्न उद्योग तथा निजी क्षेत्रले आवश्यक परीक्षणका लागि प्रयोगशालाको सेवा लिँदै आएका छन्। हाल प्रयोगशालामा वार्षिक रूपमा ५०० भन्दा बढी नमुनाको परीक्षण गरिँदै आएको छ।
सीमएन परियोजनाको अवधि समाप्त भएपछि मोरङ उद्योग व्यापार संघ, झापा, मोरङ र सुनसरीका जिल्ला समन्वय समिति तथा विराटनगर महानगरपालिका प्रयोगशालाको सञ्चालक समितिमा आबद्ध रहेका छन्।
प्रयोगशाला प्रमुख वाल्मिकीका अनुसार नेपाल सरकारको खानेपानी परीक्षण निर्देशिकाअनुसार २६ प्रकारका परीक्षण नियमित रूपमा गरिन्छ। त्यसैगरी फोहोर पानीको जेनेरिक स्ट्यान्डर्ड–१, २ र ३ अन्तर्गत परीक्षण, वायु तथा ध्वनि गुणस्तर परीक्षण, माटो परीक्षण र मलखाद परीक्षणसमेत हुँदै आएको छ।
यसबाहेक चाउचाउ, बिस्कुटलगायत विभिन्न खाद्य उत्पादनको गुणस्तर परीक्षण पनि प्रयोगशालामार्फत गरिन्छ। प्रयोगशालामा रहेको एटोमिक एब्जोर्प्सन स्पेक्ट्रोफोटोमिटर (एएएस) मेसिनको मूल्य मात्र करिब एक करोड रुपैयाँ रहेको बताइएको छ। उक्त मेसिनमार्फत माटो, पानी तथा खाद्यान्नमा रहेका आइरन, लिड, जिङ्कलगायत विभिन्न धातु तत्वहरूको परीक्षण गरिन्छ।
नेपाल वातावरणीय सेवा केन्द्रले वातावरण तथा खाद्य सुरक्षासम्बन्धी परीक्षण सेवा प्रदान गर्दै औद्योगिक तथा सार्वजनिक स्वास्थ्य क्षेत्रलाई महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।

