विराटनगर—भारतले नेपाली चियामा लगाउँदै आएको गैरभन्सार अवरोध फेरि सुरु गरेको छ । नेपाली चियामा मे १ तारिकबाट लागु हुनेगरि सतप्रतिशत चियाको परिक्षणको प्रावधानको कारण भारतीय चिया बोर्डले लगाएका पछि २१ दिन नेपालको काकडभिट्टा नाकाबाट हुने निकासी बन्द भएको थियो ।

चिया बोर्डको निर्णयबाट पछि हट्दै पुरानै प्रावधानबाट चियाको परिक्षण गर्ने लिखित पत्र पठाएको चिया बोर्डले अहिले फेरि चियाको पुन सतप्रतिशत परिक्षणको प्रावधान राखेपछि चियाको निकासी फेरि प्रभावित बनेको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुललीले बताए । 

चियाको निकासी सहज बनाएपनि भारतको कोलकोतामा पुगेका चियाका छ वटा गाडीबाट हुने परिक्षणमा ढिलाई गरि भारतीय पक्षले गैर भन्सार अवरोधलाई निरन्तरता दिएको पराजुलीले बताए । १० दिनदेखी चियाको नमुना संकलनका लागि पर्खिएपनि अहिले दुईवटा गाडीको मात्र परिक्षण भएको उनले बताए । बाँकी चारवटा गाडीको नमुना संकलन नभएको उनले बताए । 

भारतीय चिया बोर्डले मे १ देखि नेपालबाट भारत जाने सबै चियामा शतप्रतिशत ल्याब परीक्षण अनिवार्य गर्ने व्यवस्था लागू गरेपछि २१ दिनसम्म मेची नाकाबाट चिया निकासी ठप्प भएको थियो । उक्त निर्णयपछि नेपाली चिया उद्योगी र व्यवसायीले तीव्र दबाब दिएपछि भारतले पुरानै व्यवस्था लागू गर्दै नमुना परीक्षणका आधारमा निकासी खुला गरेको थियो ।

तर त्यसको केही दिन पछि नै नेपालबाट हुने चियाका निकासीमा सतप्रतिशत परिक्षण हुनुपर्ने र आफूहरुबाट गएको पत्र ‘सक्कली’ नभएको जिकिर भारतीय पक्षबाट हुन थालेपछि फेरि नेपाली किसान, व्यावसायी र चिया उद्योगी समस्या परेका छन । दोश्रो लटको चिया निकासी धमाधम होला भनेर पर्खाइमा रहेका उनीहरु समस्यामा परेका हुन । 

२१ दिनको बन्द पछि चियाको निकासी खुल्दा भारतीय भन्सार कार्यालय पानीटंकीमा चियाको नमुना संकलन गरी ‘प्रोभिजनल सर्टिफिकेट’ का आधारमा चिया पठाउने काम गरेको थियो । तर कोलकातास्थित खाद्य परीक्षण प्रयोगशालामा नमुना संकलन गर्न प्राविधिक नपुग्दा परीक्षण प्रक्रिया नै रोकिएको थियो । ‘१० दिनदेखि छ वटा ट्रक चिया परीक्षणको पर्खाइमा छन दुईवटाको मात्र ल्याब परिक्षण रिपोर्ट आएको छ अन्यको नमुना नै संकलन भएको छैन ।’पराजुलीले भने, ‘करिब ५० हजार किलो चिया कोलकातामा रोकिएको छ । यसको नेपाली बजार मूल्य झन्डै एक करोड ८० लाख रुपैयाँ बराबर हुन्छ ।’

राष्ट्रिय स्वतन्त्रपार्टीका केन्द्रिय अध्यक्ष रवि लामिछाने भारत भ्रमणमा रहेकाले आफूहरुले भारत स्थित नेपाली दुतावासलाई अनुरोध गरेर नेपाली चियाको निकासीमा भारतले गर्दै आएको गैर भन्सार अवरोध सधैंका लागि अन्त्य गर्न माग गरेको जानकारी पराजुलीले दिए । 

नेपालबाट भारत हुँदै तेस्रो मुलुकमा समेत चिया निर्यात हुने भएकाले यस्तो अवरोधले समग्र निर्यात प्रणालीमै असर पर्ने उद्योगीहरूको भनाइ छ । नेपाल चिया उत्पादक संघका उपाध्यक्ष शिव कुमार गुप्ता ले भारतले पछिल्‌लो समय विभिन्न प्राविधिक र प्रशासनिक बहानामा नेपाली चियामा गैरभन्सार अवरोध सिर्जना गरिरहेको आरोप लगाए । उनले भने, ‘यस्ता अवरोधले नेपाली किसान, उद्योगी र निर्यातकर्तालाई निरुत्साहित बनाएको छ । चिया क्षेत्रमै अनिश्चितता बढेको छ ।’

नेपालमा वार्षिक करिब दुई करोड ६१ लाख किलो चिया उत्पादन हुने सरकारी तथ्यांक छ । त्यसमध्ये करिब ९० प्रतिशत अर्थोडक्स चिया निर्यात हुने गरेको छ भने निर्यातको ८० देखि ९० प्रतिशत हिस्सा भारतमै निर्भर छ । पूर्वी नेपालका इलाम, झापा, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लामा उत्पादित अर्थोडक्स चिया मुख्य रूपमा भारतीय बजार हुँदै अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने गरेको छ ।

चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा करिब १ लाख ६० हजारभन्दा बढी परिवार  प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा चिया खेती र उद्योगसँग जोडिएका छन् । चिया नेपालको प्रमुख नगदे बालीमध्ये एक मानिन्छ ।

यसैबीच, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी ले प्रतिनिधिसभामा भारततर्फ देखिएको चिया निर्यात समस्या समाधानतर्फ उन्मुख रहेको बताएकी छन् । प्रतिनिधिसभामा एक साता अघि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गौरी कुमारीले चिया निर्यात सहजीकरणका लागि सरकारले गत चैत ३० गते नै कूटनीतिक तथा प्रशासनिक पहल थालेको जानकारी दिइन् ।

उनका अनुसार वैशाख २८ गते चिया तथा कफी विकास बोर्डसँग छलफल गरिएको थियो भने नयाँदिल्‌लीस्थित नेपाली दूतावासमार्फत भारतीय निकायसँग पनि समन्वय भइरहेको छ । नेपालबाट भारत हुँदै तेस्रो मुलुकमा चिया निर्यात सहज बनाउन समेत पहल भइरहेको मन्त्रीको भनाइ थियो ।

व्यवसायीहरूका अनुसार नेपाली अर्थोडक्स चियाले अन्तर्राष्ट्रिय बजारमा राम्रो पहिचान बनाइरहेका बेला भारतीय पक्षबाट पटक–पटक सिर्जना हुने प्राविधिक अवरोधले नेपालको चिया व्यापारको विश्वसनीयतामै असर पार्ने खतरा बढेको छ ।