विराटनगर–कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजित वुमन लिडरसीप समिट २०२६, १६ बुँदे घोषणपत्र जारी गर्दै सम्पन्न भएको छ ।
समीटको प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले महिलालाई उद्यमशीलतामा आकर्षित गर्न प्रदेश सरकारले विभिन्न पहल अघि बढाएको जानकारी दिए। उनका अनुसार वित्तीय पहुँच विस्तार, ब्याज अनुदान तथा बैंकिङ क्षेत्रसँगको सहकार्यमार्फत लक्षित कार्यक्रम सञ्चालन भइरहेका छन्। साथै, धितो अभावका कारण व्यवसायमा प्रवेश गर्न नसकेका महिलालाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने नीति लिइएको उनले स्पष्ट पारे।
मुख्यमन्त्री कार्कीले प्रदेशका कर्मचारीलाई दिइने पोसाक भत्ता वृद्धि गर्ने तयारी रहेको र हप्तामा एक दिन लगाइने पोसाक अनिवार्य रूपमा कोशी प्रदेशमै उत्पादन भएको हुनुपर्ने व्यवस्था गरिने बताए। यसले स्थानीय उत्पादन र उद्योगलाई टेवा पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघ (CNI) कोशी प्रदेश महिला विभाग संयोजक रचना राठीले महिलाको नेतृत्व विकासलाई सरकारी नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समेटिनुपर्नेमा जोड दिइन्। उनले यस्ता सम्मेलनले अनुभव आदानप्रदानसँगै व्यवहारिक ज्ञान हासिल गर्ने अवसर दिएको उल्लेख गर्दै महिला सशक्तीकरणलाई संस्थागत बनाउन निरन्तर प्रयास आवश्यक रहेको बताइन्।

सम्मेलनका वक्ताहरूले महिलालाई श्रमशक्तिमा मात्र सीमित नगरी आर्थिक विकासको प्रमुख आधारका रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिए। उनीहरूले सीप तथा ज्ञानमा लगानी बढाउने, वित्तीय स्रोतमा पहुँच सहज बनाउने र सुरक्षित तथा समान अवसरयुक्त वातावरण निर्माण गर्नुपर्ने धारणा राखे। महिलालाई स्रोत र अवसरबाट वञ्चित गर्ने प्रवृत्ति अन्त्य नगरेसम्म दिगो सामाजिक रूपान्तरण सम्भव नहुने निष्कर्ष प्रस्तुत गरिएको थियो।
उद्योगी पवन गोल्यानले उद्योग क्षेत्रमा महिलाको सहभागिता अझै सन्तोषजनक नरहेको स्वीकार गर्दै नेतृत्व तहमा महिलालाई अघि बढाउन नीतिगत तथा संस्थागत पहल आवश्यक रहेको बताए। उनले महिलाभित्र देखिने प्रतिस्पर्धात्मक अवरोध हटाउँदै सीप विकास, वित्तीय पहुँच र मार्गदर्शन (मेन्टोरसिप) लाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे।
त्यसैगरी उनले कृषि र उद्योगबीचको सम्बन्धलाई सुदृढ गर्दै महिलालाई उत्पादन तथा प्रशोधन क्षेत्रमा जोड्नुपर्ने आवश्यकता औँल्याए। विशेषगरी तराई क्षेत्रमा सिमलतरुल जस्ता बालीको व्यावसायिक उत्पादन विस्तार गर्न महिलालाई प्रोत्साहित गर्न सकिने उनको सुझाव थियो।
नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडाले महिलालाई आत्मनिर्भर बन्न प्रेरित गर्दै असफलताबाट नआत्तिन आग्रह गरे। आत्मविश्वास र सिर्जनशीलताले नै सफलताको आधार तयार पार्ने उनको भनाइ थियो। साथै, उनले आफ्नो संस्थामा महिला रोजगारी वृद्धि गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
नेपाल उद्योग परिसंघ र यसको कोशी प्रदेश समितिको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा उद्यम क्षेत्रमा सक्रिय महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

