विराटनगर–आयातित मालसामानमा भन्सार बिन्दुमै अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य अंकित गर्नुपर्ने नयाँ व्यवस्थाका कारण प्रमुख भन्सार नाकामा जाँचपास अवरुद्ध भएपछि भन्सार विभागले तत्कालका लागि सहजीकरणको विकल्प अघि सारेको थियो । तर भन्सार विभागको उक्त विकल्पलाई उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले नमानेपछि समस्या झन जटिल बन्दै गएको छ । 

जसको कारण नेपाली भन्सार नाका र भारतीय भन्सार नाकामा नेपाल प्रवेश गर्ने हजारौं मालवाहक सवारी अलपत्र परेका छन । ढुवानी अवधि सकिएका मालवाहकले दैनिक कन्टेनरको ५ हजार भारु र दैनिक एक हजार पार्किङ शूल्क तिर्नु परिरहेको भन्सार ऐजेन्ट संघ विराटनगरका अध्यक्ष देवकीनन्दन शर्माले बताएका छन । 

उनले मन्त्रालय स्रोतलाई उल्लेख गर्दै भन्सार विभागको पत्रलाई बेवास्ता गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको परिपत्र अनुसार नै एमआरपी उल्लेख हुनुपर्ने जिकिर गरेपछि समस्याको समाधान नभएको हो । शर्माका अनुसार भारतबाट आइरहेका मालवाहक सवारीलाई भारतीय भन्सार कार्यालय बाहिर सडकमै पार्किङ गर्न भनिएको छ । समस्याको समाधान नभएसम्म सबै सवारी भन्सार परिसरमा नआट्ने र भन्सार प्रवेश गरेपछि शुल्क लाग्ने भएकाले अहिले बाहिरै बस्नु भनेको उनले बताए । 

विभागले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै पैठारीकर्ताबाट भन्सार बिन्दुमै एमआरपीको स्वघोषणा गराएर जाँचपास गर्न दिने र नेपाल भित्रिएपछि मात्र लेबल टाँसेर बिक्री–वितरण गर्ने प्रतिबद्धता लिन सकिने प्रस्ताव भन्सार विभागले गरेको थियो । यसले हाल देखिएको अवरोध कम गर्दै आयात प्रक्रिया सहज बनाउने अपेक्षा समेत विभागले गरेको थियो । तर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भन्सार विभागको अनुरोध अस्विकार गरेको हो ।  

यसअघि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत चैत ३० गते सूचना जारी गर्दै भन्सार बिन्दुमै एमआरपी उल्लेख गरेर मात्रै वस्तु आयात गर्नुपर्ने व्यवस्था लागू गरेको थियो। उक्त प्रावधान वैशाख १५ देखि कार्यान्वयनमा आएसँगै वीरगञ्ज, विराटनगर, भैरहवा लगायत मुख्य नाकाबाट आयातित वस्तुको जाँचपास प्रभावित हुदै आएको छ ।

भन्सार स्रोतका अनुसार वीरगञ्ज र विराटनगर भन्सारमा मात्रै करिब २ हजार मालवाहक सवारी साधन जाँचपासको प्रतीक्षामा रोकिएका छन् । विराटनगर भन्सार प्रमुख उमेश श्रेष्ठले आफूहरुले एमआरपी नभएको सामानाको जाँचपास नगरेको बताए । अर्को निर्देशन नआएसम्म आफूहरुले जाँचपास नगर्ने उनले जानकारी दिए । 

त्यसैगरि वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार पछिल्ला तीन दिनदेखि औद्योगिक कच्चा पदार्थ, फलफूल र तरकारी बाहेकका अधिकांश वस्तुहरूको जाँचपास ठप्प जस्तै भएको छ । नाकामा गाडी थन्किएपछि आपूर्ति शृंखलामा अवरोध सिर्जना हुनुका साथै आयातकर्ताको लागत बढ्ने र बजारमा वस्तुको अभाव देखिने जोखिम बढेको व्यवसायीहरूले बताएका छन् ।

भन्सार विभागले मन्त्रालयलाई पठाएको पत्रमा हालको व्यवस्थाका कारण जाँचपासमा व्यावहारिक समस्या देखिएको उल्लेख गर्दै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा आर्थिक ऐनमार्फत एमआरपीसम्बन्धी विषयलाई थप स्पष्ट पार्न सकिने जनाएको थियो । त्यतिन्जेलका लागि अस्थायी रूपमा स्वघोषणामा आधारित व्यवस्था लागू गरी सहजीकरण गर्न आग्रह गरिएको थियो ।  व्यवसायीहरूका अनुसार तत्काल समाधान नआए आयात–निर्यात व्यापारमा थप अवरोध आउने र बजारमा मूल्यवृद्धिको दबाब समेत बढ्न सक्नेछ ।