विराटनगर–आर्थिक वर्ष २०८१÷०८२ मा १ अर्ब ४८ करोड रुपैयाँ बराबरको जुत्ता निर्यात गर्दै म्याजिक फुटवेयर देशकै अग्रणी कम्पनीको रूपमा स्थापित भएको छ । पछिल्ला वर्षहरूमा निर्यात बजारमा देखिएको यसको आक्रामक विस्तारले नेपाली जुत्ता उद्योगको नेतृत्व नै परिवर्तन गरेको संकेत दिएको छ ।
विगतमा निर्यातमा वर्चस्व जमाएको गोल्डस्टार शुज नेपाल अहिले भने प्रतिस्पर्धाको चापमा परेको छ । एक समय झन्डै १ अर्ब रुपैयाँसम्म निर्यात गर्दै आएको कम्पनीको निर्यात हाल करिब ५० करोड रुपैयाँमा सीमित भएको उद्योग स्रोत बताउँछ । विशेषगरी भारतीय बजारमा बढ्दो प्रतिस्पर्धाले पुराना ब्रान्डहरूलाई दबाबमा पारेको देखिन्छ ।
यस्तो अवस्थामा म्याजिक फुटवेयरले उत्पादन क्षमता विस्तार, गुणस्तर सुधार र नयाँ बजार खोजीमार्फत उल्लेखनीय प्रगति हासिल गरेको हो । कम्पनीका निर्देशक राजेश बगडियाका अनुसार आगामी आर्थिक वर्ष २०८२÷०८३ मा २ अर्ब रुपैयाँभन्दा बढी निर्यात गर्ने लक्ष्य राखिएको छ । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा नेपाली जुत्ताको माग विस्तार हुँदै गइरहेको छ ।
रोजगारी सिर्जनामा पनि कम्पनीको योगदान उल्लेखनीय छ । हाल म्याजिक फुटवेयरमा करिब १ हजार ७ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन । यसले जुत्ता उद्योगलाई श्रमप्रधान र आर्थिक गतिविधि बढाउने क्षेत्रका रूपमा स्थापित गरेको छ ।
यद्यपि, उद्योगले नीतिगत अस्थिरताको चुनौती पनि झेलिरहेको छ। कम नाफाको अवस्थामै ४–५ प्रतिशत निर्यात अनुदानको अपेक्षामा गरिएको लगानीमा सरकारले अनुदान बन्द गरेपछि उद्योगीहरू असन्तुष्ट बनेका छन्। यसले लागत बढाउने र प्रतिस्पर्धात्मक क्षमता कमजोर पार्ने चिन्ता उद्योगीहरूले व्यक्त गरेका छन । यी चुनौतीका बीच पनि म्याजिक फुटवेयरको निर्यात वृद्धिले नेपाली जुत्ता उद्योगमा नयाँ सम्भावना र आत्मविश्वास थपिएको देखिन्छ ।

राजेश बगडियाको भूमिका
म्याजिक फुटवेयरका निर्देशक राजेश बगडियाले नेपाली जुत्ता उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गराउने अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। उत्पादनको गुणस्तर सुधार, आधुनिक प्रविधिको प्रयोग र बजार विविधीकरणमा उनले विशेष जोड दिएका छन ।
उद्योगलाई रोजगारीमुखी बनाउने, युवा श्रमिकलाई आकर्षित गर्ने र ‘मेड इन नेपाल’ उत्पादनलाई विश्व बजारमा चिनाउने दिशामा उनको योगदान उल्लेखनीय मानिन्छ। पछिल्ला वर्षहरूमा विभिन्न सञ्चारमाध्यमहरूमा प्रकाशित सामग्रीहरूले पनि उनको नेतृत्वमा म्याजिक फुटवेयरले द्रुत प्रगति गरेको तथ्य औंल्याएका छन ।
सरकारी नीतिगत अस्थिरता र अनुदान कटौतीजस्ता चुनौतीका बाबजुद बगडियाले निर्यात विस्तार र उत्पादन क्षमतामा वृद्धि गर्दै उद्योगलाई अगाडि बढाइरहेका छन । समग्रमा, चुनौतीका बीच पनि निर्यात वृद्धि, रोजगारी सिर्जना र निजी क्षेत्रको सक्रियताले नेपालको जुत्ता उद्योग अझै सम्भावनायुक्त र विस्तारोन्मुख देखिएको छ ।
सरकारी नीतिगत अस्थिरता र अनुदान कटौतीजस्ता चुनौतीका बाबजुद बगडियाले निर्यात विस्तार र उत्पादन क्षमतामा वृद्धि गर्दै उद्योगलाई अगाडि बढाइरहेका छन । समग्रमा, चुनौतीका बीच पनि निर्यात वृद्धि, रोजगारी सिर्जना र निजी क्षेत्रको सक्रियताले नेपालको जुत्ता उद्योग अझै सम्भावनायुक्त र विस्तारोन्मुख देखिएको छ ।

