विराटनगर । अमेरिका–इरान युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ, पथ्थर कोइला, प्लास्टिक कच्चा पदार्थ र अमेरिकी डलरको मूल्य निरन्तर बढ्दा त्यसको प्रत्यक्ष असर नेपाली सिमेन्ट उद्योगमा परेको छ ।

उत्पादन लागतसँगै ढुवानी खर्चमा तीव्र वृद्धि भएपछि युद्धअघि ७०० देखी ७२० रुपैयाँमा पाइने सिमेन्ट अहिले बजारमा प्रतिवोरा ८०० रुपैयाँमा  कारोबार भइरहेको छ । पहिले ८००मा विक्री भइरहेको सिमेन्ट अहिले ९०० रुपैयाँ पुगेको छ । उद्योगीहरूका अनुसार यदि युद्ध तत्काल नरोकिने हो भने सिमेन्टको मूल्य फेरि बढ्ने जोखिम अझै बलियो बनेको छ ।

नेपाल अल्ट्राटेक सिमेन्टका सञ्चालक मनिष मारुले युद्ध सुरु भएयता सिमेन्ट उद्योगहरू “चेन इफेक्ट” मा परेको बताए । उनका अनुसार प्लास्टिक दाना, पेट्रोलियम पदार्थ, पथ्थर कोइला र डलर विनिमय दर एकसाथ बढ्दा त्यसको सीधा असर उत्पादन लागतमा परेको हो ।

मारुले भने, “युद्ध रोकिएन भने सिमेन्टको मूल्य फेरि बढ्न सक्छ । युद्ध सुरु भएयता प्लास्टिक, पेट्रोलियम, कोइला र डलर सबै महँगिएको छ । त्यसको चेन इफेक्टले सिमेन्ट उद्योगलाई सीधै असर गरेको छ ।”

उनका अनुसार डिजेल र पेट्रोलको मूल्यवृद्धिसँगै ढुवानी भाडा करिब ४० प्रतिशतसम्म बढेको छ । यही कारणले मात्र सिमेन्टको मूल्य प्रतिवोरा ५५ देखि ८० रुपैयाँसम्म बढेको उनले बताए । नेपालमा अधिकांश सिमेन्ट उद्योगले कोइला, प्याकेजिङ सामग्री र स्पेयर पाट्र्स भारत तथा तेस्रो मुलुकबाट आयात गर्ने भएकाले ढुवानी लागतमा आएको वृद्धिले बजार भाउलाई थप माथि धकेलेको हो ।

मारुका अनुसार यदि युद्धविराम भई स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुल्यो र प्लास्टिक तथा पेट्रोलियम पदार्थको मूल्य पुरानै अवस्थामा फर्कियो भने सिमेन्टको मूल्य पनि पहिलेको स्तरमा झर्न सक्ने सम्भावना छ । अहिले भने उद्योगीहरू मूल्य स्थिर राख्न संघर्षरत रहेको उनले बताए ।

नेपालमा कोइला, स्पेयर पाट्र्स, प्याकेजिङ सामग्री तथा केही रासायनिक पदार्थ आयात गर्दा अमेरिकी डलरमा भुक्तानी गर्नुपर्ने भएकाले विनिमय दरको वृद्धिले उद्योगको लागत संरचना थप प्रभावित बनाएको हो ।  नेपाली रुपैयाँ कमजोर हुँदा उद्योगीले समान परिमाणको कच्चा पदार्थ किन्न पनि बढी रकम खर्च गर्नुपरेको उद्योगीहरु बताउँछन् ।

मारुती सिमेन्टका सञ्चालक तथा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले युद्धको प्रभाव केवल इन्धनमा सीमित नरहेको बताए । उनका अनुसार अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखला महँगिँदा सबैजसो वस्तुको लागत बढेको छ ।


राठीले भने, “युद्धका कारण इन्धन, कोइला, ढुवानी, प्याकेजिङ र डलर सबै महँगिएको छ । त्यसैले सिमेन्ट उत्पादनको लागत पनि बढेको छ । यही कारण बजारमा सिमेन्टको मूल्य प्रतिवोरा ८० रुपैयाँसम्म बढाउनुपरेको हो ।”

उनका अनुसार अहिले उद्योगहरू लागत व्यवस्थापनमै संघर्षरत छन् । बजार माग अपेक्षाकृत सुस्त रहे पनि धेरै बस्तुको मूल्यवृद्धिका कारण उद्योगहरूले पुरानै मूल्यमा सिमेन्ट बिक्री गर्न नसक्ने अवस्था आएको छ ।

सप्तकोशी सिमेन्ट प्रालिका अध्यक्ष आशिष गोयलले पनि युद्ध सुरु भएपछि प्याकेजिङ बोराको लागत उल्लेख्य रूपमा बढेको जानकारी दिए । उनका अनुसार एउटा बोराको लागत नै ५० देखि ८० रुपैयाँसम्म बढेकाले अन्तिम सिमेन्ट मूल्यमा त्यसको प्रत्यक्ष असर परेको छ । गोयलले भने, “ढुवानी लागत, डलरको भाउ र प्याकेजिङ सामग्रीको मूल्य एकसाथ बढेको छ। त्यसैले सिमेन्टको मूल्य बढ्नु स्वाभाविक हो ।”

उनका अनुसार अहिले निर्माणको मुख्य सिजन भए पनि बजार माग अपेक्षाकृत न्यून छ । सामान्यतया यही समयमा घर निर्माण, ढलान र ठूला परियोजनामा सिमेन्टको खपत उच्च हुने भए पनि युद्धका कारण मूल्यवृद्धि भएपछि बजार सुस्त बनेको छ ।

गोयलले भने, “मूल्य बढेको छ, तर बजारमा माग भने कम छ । ठूला आयोजनादेखि साना निजी निर्माणसम्म सबैजसोले काम सुस्त बनाएका छन् । सबै वस्तुको मूल्य बढ्दा उपभोक्ता र निर्माण व्यवसायी दुवै पर्ख र हेरको अवस्थामा छन् ।”

उद्योगीहरूका अनुसार सिमेन्ट मात्र होइन, फलाम, डिजेल, बिटुमिन, पाइप, प्लास्टिक सामग्री र अन्य निर्माण सामाग्रीको मूल्यसमेत बढेकाले ठूला आयोजना अगाडि बढ्न सकेका छैनन् । यसको असर निजी आवास निर्माणदेखि सरकारी पूर्वाधार आयोजनासम्म परेको छ ।

मारुका अनुसार सरकारी आयोजनाहरूमा ठेकेदारहरूले काम रोक्न थालेका छन् । जुन दरमा ठेक्का सम्झौता भएको थियो, अहिले बजार मूल्य त्योभन्दा धेरै माथि पुगेकाले पुरानै लागतमा काम गर्दा घाटा हुने अवस्था आएको उनको भनाइ छ । उनले भने, “घाटा हुने काम कसले गर्छ ? नाफा नहुने हो भने घरबाट कसैले पनि व्यहोर्दैन । सरकारले ठेकेदारहरूलाई विशेष सहुलियत वा इन्सेन्टिभ दिनुपर्छ, नत्र ठूला योजनामा काम अघि बढ्दैन ।”

उनका अनुसार धेरै ठेकेदारहरूले सरकारसँग मूल्य समायोजन, अतिरिक्त बजेट वा इन्सेन्टिभको माग गरिरहेका छन् । जबसम्म त्यो माग सम्बोधन हुँदैन, सडक, पुल, भवन र अन्य ठूला पूर्वाधार आयोजनामा काम सुस्त रहने सम्भावना छ। यसको प्रत्यक्ष असर सिमेन्टको बजार मागमा पर्नेछ ।

निर्माण क्षेत्रका जानकारहरूका अनुसार सरकारी परियोजना सुस्त हुँदा निजी क्षेत्र पनि थप सावधानी अपनाउने गर्छ । यसले बजारमा “डिमान्ड साइकल” कमजोर बनाउँछ, जसले उद्योगहरूको उत्पादन क्षमता उपयोगमा समेत असर पार्छ । अहिले धेरै सिमेन्ट उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्न नसकेको बताइएको छ ।

उद्योगीहरूले सरकारसँग ढुवानी सहजता, वैकल्पिक आपूर्ति मार्ग, डलर स्थिरता र सरकारी आयोजनामा मूल्य समायोजनको स्पष्ट नीति ल्याउन आग्रह गरेका छन् । यदि मध्यपूर्व युद्ध लम्बियो भने सिमेन्टको मूल्यमा पुनः ५० रुपैयाँभन्दा बढी वृद्धि हुनसक्ने उद्योगीहरूको चेतावनी छ ।

यसरी अमेरिका–इरान युद्धको असर नेपाली बजारमा खानेतेल, इन्धन र ढुवानी मात्र होइन, निर्माण क्षेत्रको मेरुदण्ड मानिने सिमेन्ट उद्योगमा समेत गहिरो रूपमा देखिएको छ ।  लागत बढे पनि माग घट्दै जाँदा उद्योगीहरू दोहोरो दबाबमा परेका छन् भने उपभोक्ता र ठेकेदारहरू महँगीको मारमा परेका छन् ।