खबरपलपल संवाददाता
भोजपुर — पूर्वकै प्रसिद्ध धार्मिक स्थल भोजपुरस्थित सिद्धकाली मन्दिरको संरक्षण तथा सम्पदा समितिको बुधबार सम्पन्न तेस्रो साधारणसभा तथा अधिवेशनले अध्यक्षमा पुनः दोस्रो कार्यकालका लागि डम्बर श्रेष्ठ सहित ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। अधिवेशनको खुला सत्रमा मन्दिर सञ्चालक समितिका पूर्व कार्यसमितिका पदाधिकारी तथा दाताहरूलाई सम्मान गरिएको थियो।
डम्बर श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा फबेन्द्र प्रधान, सचिवमा नवीन प्रधान, सहसचिवमा विनम श्रेष्ठ, कोषाध्यक्षमा मीना कार्की तथा सदस्यहरूमा राजीव श्रेष्ठ, कर्णबहादुर मोक्तान, नवीन बुढाथोकी, सर्वेन्द्र बल, रामेश्वर श्रेष्ठ र प्रविण सुवाल लाई निर्विरोध निर्वाचित गरेको छ। संरक्षण समितिको कार्यकाल तीन वर्ष रहनेछ।

कोशी प्रदेश सभाका सांसद विनोद वान्तवाको प्रमुख आतिथ्यमा भोजपुर उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित कार्यक्रममा पूर्वअध्यक्ष बलिमान राई, सचिव भगतराज श्रेष्ठ, कोषाध्यक्ष स्वर्गीय सागरनारायण मोक्तान, स्वर्गीय दलबहादुर कार्की, विष्णु राई, प्रेम सुवाल र किशोर श्रेष्ठलाई मन्दिरको संरक्षण र संवर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो।
त्यसैगरी, वार्षिक रूपमा १३ हजार २०० रुपैयाँ मन्दिर संरक्षण तथा देवीमाताको भेटीस्वरूप सहयोग गर्दै आएका काठमाडौं निवासी दम्पती रामप्रसाद उपाध्याय र श्रीमती गीता काफ्लेलाई पनि सम्मान गरिएको छ।

यस्तै, मन्दिरमा प्रयोग हुने विद्युत् बत्तीको महसुल तिरिदिँदै आएका उमेश श्रेष्ठ, भोजपुर नगरपालिका र प्रदेश सरकारलाई पनि सम्मान गरिएको थियो। प्रदेश सरकारले मन्दिर विकासका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो भने नगरपालिकाले घेराबारका लागि तीन लाख रुपैयाँ उपलब्ध गराएको थियो।
त्यस्तै, डिभिजन वन कार्यालय र नेपाल टेलिकमले डस्टबिन प्रदान गरेकोमा दुवै संस्थालाई सम्मान तथा कदरपत्र प्रदान गरिएको छ। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजन पौडेल, प्रहरी नायब उपरीक्षक राजु लामा, सशस्त्र प्रहरी बलका डीएसपी दिव्यराज कोइराला लगायत विशिष्ट व्यक्तित्वहरूको आतिथ्य रहेको थियो।

