विराटनगर । इरान–अमेरिका द्वन्द्वका कारण स्ट्रेट अफ हरमुज अझै पूर्ण रूपमा सुचारु हुन नसक्दा नेपालमा खानेतेलको मूल्य फेरि उकालो लागेको छ । तोरी, भटमास (सोयाबिन), सनफ्लावर र पाम तेलको खुद्रा मूल्य प्रतिलिटर १५ रुपैयाँदेखि २० रुपैयाँसम्म बढेको उद्योगीहरूले बताएका छन् । तर तीनै तेलको खुद्रा मूल्यमा भने प्रति लिटर ३० देखी ६० रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको भाउ, समुद्री ढुवानी, युद्ध–बीमा, पेट्रोलियम, प्याकेजिङ सामग्री र डलरको मूल्य एकैपटक बढ्दा त्यसको प्रत्यक्ष असर नेपाली भान्सामा परेको हो ।

विराटनगरस्थित पशुपति खाद्य तेल उद्योगका सञ्चालक तथा मोरङ उद्योग व्यापार संघका सचिव अमित सारडाका अनुसार, अहिले सोयाबिन तेलको अन्तर्राष्ट्रिय मूल्य प्रतिटन १,३७० देखि १,४०० डलर पुगेको छ भने सनफ्लावर तेल १,५०० डलर प्रतिटन नाघेको छ । “युद्ध सुरु भएपछि कच्चा पदार्थमै ५० देखि ७० डलरसम्म वृद्धि भएको छ,” उनले भने, “त्यसमाथि जहाजको भाडा, इन्स्योरेन्स र वार–रिस्क चार्ज थपिँदा लागत अस्वाभाविक रूपमा बढेको छ ।” विश्व बजारमा मार्चयता सोयाबिन तेल र अन्य भान्सा तेलको मूल्य ऊर्जा बजारसँगै उकालो लागेको अन्तर्राष्ट्रिय बजार सूचकहरूले देखाएका छन् ।

सारडाका अनुसार फ्रेट चार्ज प्रतिटन ७० डलरबाट १२० डलर पुगेको छ। हरमुज क्षेत्र पूर्ण सुरक्षित नभएकाले जहाज कम्पनीहरूले अतिरिक्त वार–रिस्क प्रिमियम र बीमा शुल्क थपेका छन् । अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार युद्धपछि हरमुज मार्गमा बीमा दर चारदेखि छ गुणासम्म बढेको छ र धेरै जहाज वैकल्पिक लामो रुटमा मोडिएका छन् । यही कारण नेपाल आइपुग्ने खाद्य तेलको लागत अझै बढ्ने देखिएको छ ।

नेपालमा भटमास र तोरीको कच्चा पदार्थ मुख्यतः ब्राजिल, अर्जेन्टिना, युक्रेन तथा दक्षिण–पूर्वी एसियाबाट आउने गर्छ । सारडाले फेब्रुअरीमा खोलिएको एलसीको माल अझै नआइपुगेको बताए । “जहाजहरू बीचमै अड्किएका छन्, कतिपयलाई वैकल्पिक समुद्री मार्ग प्रयोग गर्नुपरेको छ,” उनले भने, “त्यसले समय र लागत दुवै बढाएको छ।” हरमुज क्षेत्र अझै न्यून गतिमा मात्रै सञ्चालन भइरहेकाले हजारौं जहाज प्रतीक्षामा रहेको अन्तर्राष्ट्रिय रिपोर्टहरूले देखाएका छन् ।

खानेतेलको मूल्य बढ्नुमा पेट्रोलियमको भाउ वृद्धि अर्को प्रमुख कारण बनेको उद्योगीहरूको भनाइ छ । कच्चा तेलको मूल्य पुनः प्रति ब्यारेल ९८ डलर आसपास पुगेपछि ढुवानी, उद्योग सञ्चालन, ब्वायलर, ट्रक भाडा र गोदाम व्यवस्थापन खर्च महँगिएको छ । ऊर्जा महँगीले प्लास्टिक बोतल, जार, ढकनी, लेबल र कार्टुनजस्ता प्याकेजिङ सामग्रीको लागत पनि उकालो लगाएको छ। खाद्य तेल उद्योगमा प्रयोग हुने प्लास्टिक र रेजिनजन्य सामग्री प्रत्यक्ष रूपमा पेट्रोलियम मूल्यसँग जोडिएकाले प्याकेजिङ लागत थप बढेको उद्योगीहरू बताउँछन् ।

यसैबीच डलरको भाउ लगातार बढिरहनु ले पनि आयातकर्तामाथि थप दबाब सिर्जना गरेको छ । अधिकांश कच्चा पदार्थ डलरमै खरिद गर्नुपर्ने भएकाले विनिमय दरमा सानो परिवर्तनले समेत प्रतिलिटर लागतमा ठूलो असर पार्ने उद्योगीहरू बताउँछन् । नेपालमा पछिल्ला सातादेखि डलर मजबुत बन्दा एलसी, बैंकिङ शुल्क र भुक्तानी लागत बढेको छ, जसको असर उपभोक्तासम्म सिधै पुगेको हो ।

उद्योगीहरुले प्रतिलिटर १५ देखी २० रुपैयाँ प्रति लिटरमात्र बढेको बताएपनि विराटनगरको कंचनबारीमा रहेको सजिलो बजारमा तोरी तेलको मूल्य प्रतिलिटर ३०० पुगेको छ । जबकी युद्ध भन्दा अघि यसको मूल्य २४० प्रतिलिटर थियो । अर्थात तोरी तेलको खुद्रा मूल्यमा ६० रुपैयाँले बढेको छ । यसै गरि सनफ्‌लावर तेलको मूल्य अहिले प्रतिलिटर ३०० सय पुगेको छ । यो पनि पहिले लिटरको २४० थियो । यसमा पनि ६० रुपैयाँ लिटरले बढेको छ । भटमास र पाम आयलको पनि प्रति लिटर ३० रुपैयाँ सम्म बढेको खुद्रा किराना पसलेहरुले बताएका छन । उनीहरुलाई थोक विक्रेताले तेलको मूल्यमा अझै बढ्न सक्ने बताएको सजिलो बजारका संचालक बाबुराम ढकालले जानकारी दिए ।

घरेलु तेल उद्योगका सञ्चालक तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशीका कोषाध्यक्ष श्रवणकुमार अग्रवालले हाल तोरीको तेलमा मात्रै प्रतिलिटर १५ रुपैयाँ वृद्धि भएको बताए । “अहिले बजारमा माग कम भएकाले पुरानो स्टकले केही राहत दिएको छ,” उनले भने, “तर सिपिङ, प्याकेजिङ, इन्धन र डलर सबै बढिरहेकाले माग बढ्नेबित्तिकै भाउ फेरि उकालो लाग्छ ।”

उनका अनुसार अहिले उद्योगहरूले पुरानै स्टक बजारमा पठाएर मूल्य स्थिर राख्ने प्रयास गरिरहेका छन् । तर सामान्य अवस्था नआए, हरमुज मार्ग पूर्ण रूपमा नखुले र सिपिङ लागत नघटे, आगामी हप्तामा खानेतेलको मूल्य अझै ५० रुपैयाँभन्दा बढी बढ्न सक्ने जोखिम छ ।

उद्योगीहरूको निष्कर्ष स्पष्ट छ—युद्ध रोकिनु, सिपिङ भाडा घट्नु, पेट्रोलियम मूल्य सामान्य हुनु, प्याकेजिङ सस्तो हुनु र डलर स्थिर रहनु बिना नेपाली बजारमा खानेतेल सस्तो हुने सम्भावना न्यून छ । अन्यथा अहिलेको मूल्यवृद्धि अस्थायी होइन, दीर्घकालीन महँगीको संकेत बन्न सक्ने देखिएको छ ।