विराटनगर । मारवाडी सेवा सदन विराटनगरले आफ्नो स्थापनाको २५औँ वर्ष प्रवेशको अवसरमा आयोजित रजत जयन्ती समारोहमा संस्थासँग आबद्ध ११ जनालाई सम्मान गरेको छ। बुधबार विराटनगरमा सम्पन्न विशेष कार्यक्रममा सदनका संस्थापक, पूर्व पदाधिकारी तथा नेतृत्वदायी व्यक्तित्वहरूलाई सम्मान गरिएको हो।

समारोहमा सदनका ९ जना संस्थापक सदस्यहरू देवेन्द्र अग्रवाल (राजगढिया), सुरेशकुमार शर्मा, स्वर्गीय जगदिश राठी, स्वर्गीय महेन्द्र गोल्छा, स्वर्गीय महावीर तोदी, नन्दकिशोर राठी (मारुती सिमेन्ट), राजकुमार चैनवाला, महेश सिंघानिया र खेमचन्द जैन लालवानीलाई सम्मान गरिएको थियो। त्यसैगरी सदनका निवर्तमान अध्यक्ष देवकिनन्दन अग्रवाल र पूर्व अध्यक्ष ताराचन्द खेतानलाई पनि विशेष सम्मान प्रदान गरिएको छ।

marwadi sewa sadan 25

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ र मारवाडी सेवा सदन विराटनगरका अध्यक्ष नन्दकिशोर राठीले संयुक्त रूपमा सम्मानित व्यक्तित्वहरूलाई सम्मानपत्र प्रदान गरेका थिए। कार्यक्रममा सदनको २५ वर्षे यात्रा, सामाजिक योगदान र संस्थागत विकासमा पुर्‍याएको भूमिकाको स्मरण गरिएको थियो।

यस अवसरमा मारवाडी सेवा सदनले निर्माण गरेको नयाँ सभा हल ‘रजत मण्डप’ को उद्घाटन पनि गरिएको छ। प्रदेश प्रमुख खापुङले नवनिर्मित हलको उद्घाटन गर्दै यसले सामाजिक, सांस्कृतिक तथा सामुदायिक कार्यक्रम सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

marwadi 2

समारोहकै क्रममा सदनले प्रकाशन गरेको रजत जयन्ती स्मारिका समेत सार्वजनिक गरिएको थियो। प्रदेश प्रमुख खापुङले स्मारिकाको विमोचन गर्दै संस्थाले विगत २५ वर्षमा सामाजिक सेवामा खेलेको योगदान उल्लेखनीय रहेको बताए।

रजत जयन्ती समारोहलाई सदनले आफ्नो संस्थागत यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा मनाएको छ। कार्यक्रममा उद्योगी, व्यवसायी, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो।