विराटनगर - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान भित्र रहेर नै सबै समस्याको समाधान खोज्नुपर्ने बताएका छन्।
मोरङको बुढिगंगा गाउँपालिका-१ मा निर्माण गर्न लागिएको बुढिगंगा पार्कको शिलान्यास गर्दै कोइरालाले संविधान भित्र रहेर शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई रहेको उल्लेख गरे। उनले कुनै प्रकारको हिंसा, आतङ्क, तोडफोड, आगजनी नेपाली कांग्रेसलाई स्वीकार्य नहुने स्पष्ट पारे।
नेता कोइरालाले गत शुक्रबार काठमाण्डौमा भएको घटनाको निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिए। नेपाली जनतालाई विश्वास दिलाउन सरकारले छानबिन समिति बनाएर सो घटनाको जति सक्दो चाँडो छानबिन गर्नुपर्ने उनको भनाइ थियो।
उनले वर्तमान व्यवस्थालाई बलियो र दिगो बनाउन राजनीतिक दलहरू पनि सुध्रिनु जरुरी रहेको बताए। अहिलेको अवस्थामा राजनीतिक दलहरूले आफूलाई सुधार्दै जनताका मन जित्न सक्नुपर्नेमा उनले जोड दिए।
कोइरालाले नेपाली कांग्रेस र नेकपा एमाले दुई ठूला दल मिलेर सरकार निर्माण गर्दा संविधान संशोधन, आर्थिक विकास, सुशासन तथा रोजगारी सृजना गर्ने कुरा गरे पनि त्यसो हुन नसकेको बताए। उनका अनुसार दलहरूको ध्यान जति सक्दो चाँडो आफूले गरेको प्रतिबद्धता पूरा गर्नेतर्फ जानुपर्छ।
उनले नेपालमा कृषि, जलविद्युत, जडिबुटी तथा पर्यटनको प्रशस्त सम्भावना रहेकाले त्यसको उचित सदुपयोग गरेर युवाहरूलाई स्वरोजगार बनाउँदै नेपाल र नेपाली जनतालाई सुखी र समृद्ध बनाउन सकिने बताए।
बुढिगंगामा निर्माण हुन लागेको पार्कलाई पर्यटनसँग जोड्न सके यस क्षेत्रमा बसोबास गर्ने समुदायहरूको आर्थिक उन्नतिमा सहयोग पुग्ने उनको भनाइ थियो। सो गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले यस क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न पार्क निर्माण गर्न लागिएको बताए।
कार्यक्रममा संविधानसभा सदस्य विरेन्द्रकुमार माझी, कोशी प्रदेश योजना आयोगका सदस्य डा. प्रमिला गच्छदार, सो पालिकाका उपाध्यक्ष अमृताकुमारी गच्छदार तथा पूर्व अध्यक्ष बालचन्द माझीले यो पार्क नमूना पार्कको रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
सिंगिया खोलाको किनारमा रहेको नदी उकास जग्गामा २१ करोड रुपैयाँको लागतमा पार्क निर्माण गर्न लागेको पालिका अध्यक्ष जितनारायण थापा मगरले बताए। चार बिघा जग्गामा तीन वर्षमा निर्माण हुने सो पार्क निर्माणका लागि पालिकाले पहिलो चरणमा डेढ करोड रकम विनियोजन गर्दै काम शुरु गरेको छ।