विराटनगर–२३ बर्ष देखी निरन्तर रुपमा आयोजना गर्दै आएको औद्योगिक तथा कृर्षि प्रर्दशनीको सातौं श्रृंखला अन्तरगत उद्योग संगठन मोरङले आगामी २०७९ मंसिर २९ देखि पुस ६ गतेसम्म बिराटनगर महानगरपालिका वडा नं १४ स्थित डिग्री क्याम्पसको प्राङ्गण पुरानो हवाई फिल्डमा ‘विराट एक्स्पो २०७९’आयोजना गर्ने भएको छ । बिहिबार आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष सुयषराज प्याकुरेलले बिराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीमा तीन लाखले अवलोकन गर्ने ५० करोडको कारोबार हुने जानकारी दिएका छन् । ४ सय १५ वटा स्टल रहने प्रर्दशनीको समापन सम्म २ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । 



यसअघि २०७९ माघ २६ देखि फागुन ०३ गतेसम्म आयोजना गर्ने सार्बजनिक गरेको उद्योग संगठनले दुई महिना अघि नै गर्ने भएको हो । उक्त मितिमा यस अघि पत्रकार सम्मेलन गर्दै उद्योग संगठनका निर्वतमान अध्यक्ष तथा नेपाल उद्योग परिसंघका अध्यक्ष भीम घिमिरेले औद्योगिक प्रर्दशनीको मिति घोषणा गरेपछि संगठनले दुई महिना अघि सारेको हो । 


एकै स्थानमा एकै समयमा प्रर्दशनीको आयोजना गर्दा त्यसको उपादेयताको सान्दर्भिकता नहुने सुझाव प्रायः सबै सरोकारवालापक्षहरुबाट आएकाले संगठनले आफ्नो ऐतिहासिक पहिचान एवं गरिमा बोकेको कार्यक्रमलाई निरन्तरता दिनेगरि र अन्य संघ संस्थाहरुलाई समेत प्रर्दशनी आयोजना गर्न असर नपर्ने गरि तोकिएको मितिभन्दा करिब २ महिना अगाडी अर्थात २०७९ मंसिर २९ देखि पौष ०६ गतेसम्म बिराट एक्स्पो आयोजना गर्ने निर्णय गरिएको अध्यक्ष प्याकुरेलले प्रष्ट्याए । 


स्थानिय अर्थतन्त्र चलायमान बनाउदै उद्योग व्यवसाय क्षेत्रको व्यवसायीक विकासमा योगदान पु¥याउन संगठनले २०५३ सालमा कोशी महोत्सवबाट प्रारम्भ गरेको प्रदर्शनीको ऐतिहासिकताको निरन्तरता स्वरुप संगठनले समयानुकुल परिमार्जन तथा परिस्कृत गर्दै २०६६ साल देखि दुई वर्षको अन्तरालमा बिराट एक्स्पोको ब्राण्डमा बृहत औद्योगिक प्रदर्शनी सञ्चालन गर्दै आएको छ । बिराट एक्स्पोको सातौं संस्करणसम्म आइपुग्दा यो एक्स्पो नेपालमा आयोजना हुने थोरै औद्योगिक प्रदर्शनीहरु मध्ये आफ्नै छुट्टै औद्योगिक प्रदर्शनीको पहिचान तथा ब्राण्ड स्थापना गर्न सफल भएको पत्रकार सम्मेलनमा बताइएको छ ।  


कृषि, कृषि उद्यम, उद्योग, पर्यटन लगायत समग्र प्रदेश नं १ को आर्थिक एवं औद्योगिक विकासमा योगदान गर्न उत्पादक, उपभोक्ता र मूल्य श्रृङ्खलाको परिधि भित्र पर्ने समग्र व्यवसायिक सेवा प्रदायकहरुलाई आफ्नो उत्पादन तथा सेवाको बिक्रि बितरण तथा प्रचार प्रसारका लागी साझा मञ्च उपलब्ध गराई बजार प्रवद्र्धन गर्नु विराट एक्स्पो २०७९ को प्रमुख उद्देश्य रहेको आयोजकले जनाएका छन । 


प्रदर्शनीका माध्यमबाट उत्पादक र उपभोक्ता वीच अनुभव आदान प्रदान, व्यवसायीक सम्वन्ध विकास एवं नयाँ प्रविधि पहिचानमा सहयोग, कृषि उत्पादनको व्यवसायीकरण र पर्यटकिय क्षेत्रको एवं नया गन्तव्यको प्रचार प्रसार गरी आन्तरिक पर्यटन प्रवद्र्धन, नवप्रवद्र्धक स्टार्टअपहरुको व्यवसायीक विकासमा सहयोग पुयाउदै स्वदेशी उत्पादनको उत्पादकत्व एवं बजारको दायरा फराकिलो बनाउन मद्दत पुग्ने अपेक्षा आयोजक पक्षको छ ।  


यस पटक प्रर्दशनीको विशेष आकर्षकका रुपमा कृषि र कृषि प्रविधिहरु, औद्योगिक मिलमेशिनरी तथा प्रत्यक्ष उत्पादन पद्दतीको प्रदर्शनी, आर्थिक एवं कृषि तथा औद्योगिक क्षेत्रका बिषयगत मुद्दाहरुमा नीतिगत छलफल, अनुभव आदान प्रदान, स्टार्टअप कर्नर, पर्यटकिय गन्तब्यको जानकारी तथा दैनिक प्याकेज टुर, स्थानिय खानाका परिकारको व्यवसायिकरणका लागी खाना उत्सव, बिजनेश टु बिजनेश सम्बन्ध स्थापित गर्न प्रदेश नं १ भरिका सबै जिल्लाहरुको दैनिक जिल्ला बिशेष कार्यक्रमहरु, सेन्ट्रल डिजिटल डिस्प्ले लगायतका कार्यक्रमहरुको आयोजना गरिदैछ । व्यवसायिक नेटवर्क स्थापनामा सहयोग पुग्ने गरि बिजनेश र साधारण प्रवेशको व्यवस्था समेत यस पटक मिलाइनेछ । प्रदर्शनीको आकर्षणका रुपमा रहेको साङ्गितिक कार्यक्रमलाई दैनिक सञ्चालन गरिने छ भने यस्ता कार्यक्रमहरुमा स्थानीय कला संस्कृति एवं कलाकारहरुलाई प्राथमिकतामा राखि प्रदेशका सबै जिल्लाहरुलाई कला संस्कृति तथा साङ्गीतिक कार्यक्रमहरुमा सहभागि हुने अवसर उपलब्ध गराईनुका साथै राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको समेत सहभागिता गराइनेछ ।  


कृषि तथा कृषि उद्यम, घरेलु तथा साना उद्योग, उत्पादनमुलक औद्योगिक उत्पादन र उत्पादनको प्रकृया, व्यवसायिक विकास सेवाहरु, आपूर्ति श्रङ्खलाका कर्ताहरु, नविनत सोच एवं प्रविधिमा आधारित उद्योगहरु, अन्तर्राष्ट्रिय एवं सेवामुलक, अटोमोवाइल्स, खाद्य परिकार, सुचना एवं शिक्षामुलक लगायतका क्षेत्रबाट प्रदर्शनीमा सहभागिता रहनेछ । भारत, बंगलादेश, भूटान, पाकिस्तान, थाइलैण्ड, चिन लगायतका मुलुकबाट समेत कन्जुमर तथा करपोरेट स्टलहरु रहने गरि तयारी अघि बढाइएको छ । 


प्रदर्शनीमा मोरङ, सुनसरी, झापा, प्रदेश नं. १ का सर्वसाधारण, संघ, प्रदेश र स्थानीय सरकारका उच्चपदस्थ नीति निर्माताहरु, उद्योगी÷व्यवसायिहरु, विद्यार्थीहरु, कृषकहरुको साथै छिमेकी मुलुक भारतको बिहारको सिमावर्ती क्षेत्रबाट समेत गरी करिब ३ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा लिईएको छ भने प्रदर्शनी अवधीमा रु ५० करोड भन्दा बढिको प्रत्यक्ष एवं अप्रत्यक्ष कारोबार हुने अपेक्षा गरिएको छ । प्रदर्शनी आयोजनाका लागी करिब २ करोड ५० लाख रुपैया खर्चहुने र उक्त खर्चको व्यवस्थापन प्रायोजक, स्टल बिक्रि, टिकट बिक्रि तथा संघ, प्रदेश र स्थानिय सरकार र अन्य विकास साझेदारहरुसंगको सहकार्यबाट व्यवस्थापन गरिने योजना रहेको छ ।  


प्रदर्शनी आयोजनाका लागी नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रदेश नं १ सरकार, उद्योग श्रम तथा रोजगार मन्त्रालय, बिराटनगर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १, स्विस कन्ट्याक्ट एवं नेपाल कृषि बजार विकास सहज परियोजनासंग प्रवद्र्धकका रुपमा सहकार्य गरिएको छ भने सहयोगि संस्थाका रुपमा मोरङ व्यापार संघ र बिराट ब्यापार संघ रहेका छन । 


त्यसैगरि, कार्यक्रमको मूख्य प्रायोजकमा खकुरी रम रहेको छ । साथै गोल्ड स्पोन्सरमा म्याजिक फुटवेयर, सिल्भर स्पोन्सरमा बागमति प्लाष्टिक अहिलेसम्म निश्चित भइसकेको र अरु कम्पनीहरु आउने क्रम जारी रहेको छ । त्यसैगरि, एक्स्पोलाई परिणाममुखी र अर्थतन्त्रका सबै क्षेत्रहरुले फाइदा लिने अवसर प्रदान गर्ने गरि डिग्री क्याम्पस बिराटनगर, नाडा प्रदेश नं १ र मोरङ एवं नेपाल युवा उद्यमी मञ्च, होटल एशोसिएसन नेपाल लगायतका संघ संस्थाहरुसंग सहकार्य एवं समन्वय गरिएको छ । कार्यक्रमलाई भब्य र नतिजामुखी बनाउन मूल आयोजक समिति एवं विभिन्न १५ वटा समितिहरु गठन गरि तयारीलाई तिब्रता दिइएको छ ।