विराटनगर-सोमबार मोरंग व्यापार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजाल र पूर्व अध्यक्ष महेश जाजूले परराष्ट्र मन्त्री नारायण खड्कालाई भेटी विराटनगर जोगवानी नाकाबाट भइरहेको निकासी पैठारी तत्काल सुचारु गर्न ज्ञापन पत्र बुझाएका छन । जोगवनी नाकाभन्दा ४ किलोमिटर दक्षिण पश्चिममा रहेको मिरगंजमा फलामे पुल भासिदा पाँचदिन देखी भारत लगायत तेश्रो मुलुकबाट आएका सामान तथा औद्योगिक कच्चा पदार्थ आउन सकेको छैन भने नेपालबाट भारत लगायत अन्य मुलुकजाने सामान निकासी हुन सकेको छैन । 

जस्को कारण अर्बौंको माल सामान गाडीमा नै सडकमा लामबद्ध भएर अलपत्र परेको छन । ज्ञापन पत्रमा भारत सहित तेश्रो मुलुकबाट नेपाल भित्रने मालवाहक सवारी साधनहरुका लागि हाल भारतको भीमनगर-भन्टाबारी भन्सार नाका सहित अररिया जिल्लाको अररिया - कुर्सा कांटा - जोगबनी मार्गलाई वैकल्पिक मार्गको रुपमा संचालनमा ल्याउन अनुमति दिनु पर्ने, जिणर् अवस्थाको मिरगंज पुलको तत्कालै मर्मत गर्नु पर्ने, सो पुलको समानान्तरमा अन्तिम चरणमा निर्माणाधिन नयाँ पुलको निर्माण कार्य यथाशिध्र सम्पन्न गराउनु पर्ने तथा तत्कालिक रुपले सो नयाँ पुलको एक लेन भएपनि संचालनमा ल्याउनु पर्ने आदि सुझाव एवं माग राखी मालवाहक सवारी साधनहरुको आवागमन सूचारु गर्न माग गरिएको छ । 

परराष्ट्र मन्त्री खड्काले विराटनगर जोगवनी नाकाबाट हुने निकासी पैठारी पूर्ववत संचालनका लागि आफुले भारत सरकारसंग कुरा राख्ने आश्वासन दिएका छन । 

पुल क्षतिग्रस्त हुँदा गत पौष २२ गते, दिनको २ बजे देखि भारतको स्थानीय प्रशासनले सो पुल मार्फतको आवागमनमा पूणर् रोक लगाएकोमा सो को तत्कालै निराकरण गर्न मोरंग व्यापार संघका अध्यक्ष प्रकाश मून्दडा सहितको टोलीले स्थलगत निरिक्षण गर्दै शुक्रबार देखिनै नेपाल सहित भारतका विभिन्न निकायहरु समक्ष पत्रचार गरेको थियो । 

संघले नेपालका सम्माननीय प्रधानमन्त्री सहित परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग, जिल्ला प्रशासन कार्यालय र विराटनगर भन्सार कार्यालय सहित भारत तर्फ सडक परिवहन तथा राजमार्ग मन्त्रालय, नेपाल स्थिति भारतीय राजदुतावास, भारतको पटनाका भन्सार कमिश्नर, जोगबनी ल्यान्ड कस्टम्स स्टेशन, अररियाका डिष्ट्रक्ट मजिस्टे्रट र फोरबेशगंजका सब-डिभिजिनल मजिष्ट्रेट लगायतलाई पत्राचार गरिसकेको छ । 

त्यसैगरि नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १, उद्योग संगठन मोरङले पनि भारतका भन्सार अधिकारीहरुलाई भेटेर तत्कालै निकासी पैठारी सुचारु गर्न बैकल्पिक बाटोको ब्यवस्थाका लागि ध्यानाकर्षण गराएको थियो ।