विराटनगर-मुल्ककै जेठो औद्योगिक तथा व्यवसायीक संगठन मोरङ व्यापार संघको ३३ औं कार्य समितिको मंगलबार भएको निर्वाचनमा १६ कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । उम्मेदद्वारी दर्ता गर्ने समयसीमा सकिँदा कार्यसमितिमा ८ जना उद्योगतर्फ र वाणिज्यतर्फ ८ जनाले मात्रै उम्मेद्वारी दर्ता गरेका छन् ।

यसरी निर्वाचित हुनेहरुमा वाणिज्यतर्फ देवाशिष गोल्छा, मनिष मारु, श्याम राठी, संजय श्रेष्ठ, अनिल कुमार साह, विनित सिंघानिया, सुशिल सुराना, राजेश अग्रवाल रहेका छन् । यस्तै उद्योगतर्फ नवीन रिजाल, आशिष जाजु, दिपेश सुवेदी, अमित सारडा, अनुपम राठी, विकास कुमार बेगवानी, पवन राठी र अनिल सारडा रहेका छन् ।

विधानअनुसार निवर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । निवर्तमान कार्यसमितिमा नविन रिजाल वरिष्ठ उपाध्यक्ष छन् । उनी स्वतः अध्यक्ष हुनेछन् । संघका प्रमुख कार्यकारी निर्देशक कृष्ण रेग्मीका अनुसार वाणिज्य क्षेत्रबाट र उद्योग क्षेत्रबाट ८-८ जना सदस्य निर्वाचित हुने संघको विधानअनुसार दुवै क्षेत्रबाट ८-८ जनाको मात्र उम्मेदवारी परेको थियो ।

निर्वाचन आयोगका अनुसार मतदान २१ गते बुधबार बिहान १० बजेदेखि २ बजे दिउँसोसम्मलाई तोकिएको थियो । व्यापार संघको निर्वाचन समितिको संयोजकमा अधिवक्ता पुनकुमार गुप्ता तथा सदस्यहरुमा अधिवक्ता सिताराम राई र विनोद तिम्सिना रहेका छन् ।

सहमतिमै पदाधिकारी चयन हुने

कार्यसमिति निर्विरोध भएसँगै पदाधिकारी पनि सहमतिमै चयन गर्ने तयारी गरिएको छ । हालसम्म अध्यक्षमा नविन रिजाल एक्लो दाबेदार देखिएका छन् । उनको प्रतिस्पर्धामा अन्य उम्मेद्वार हालसम्म नदेखिएकोले उनै सर्वसम्मत निर्वाचित हुने सम्भावना छ । व्यापार संघको संशोधित नियमावली अनुसार पदाधिकारीमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उद्योग र वाणिज्यबाट उपाध्यक्ष १/१ जना, महासचिव १, सचिव १ र कोषाध्यक्ष १ गरी ७ जना रहनेछन् । कार्यसमितिले मनोनित गर्ने अन्य सदस्यसहित मोरङ व्यापार संघको कार्यकारिणी समिति २१ जनाको हुनेछ । हालसम्म अध्यक्षमा रिजाल, वरिष्ठ उपाध्यक्षमा अनुपम राठी, उपाध्यक्ष (उद्योग) अनिल सारडा, उपाध्यक्ष (वाणिज्य) विकास बेगवानी र महासचिवमा अनिल साहलाई नै दोहोर्याउने गरी छलफल अगाडि बढेको स्रोतको भनाइ छ ।

यसैबीच पदाधिकारी चयन भने माघ महिनामा मात्रै हुने भएको छ । पुस महिना शुभ कार्यका लागि उपर्युक्त नभएका कारण पदाधिकारीको टुंगो माघमा लगाउने सहमति भएको नवनियुक्त कार्यसमितिका सदस्य नविन रिजालले बताए । मंसिर १६ गते मोरङ व्यापार संघले आफ्नो ६५ औं साधरणसभा सम्पन्न गरिसकेको छ ।