लेटाङ- मोरङको लेटाङ नगरपालिका–३ कमलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । लेटाङ–कानेपोखरी भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४४ प ६०१८ नम्बरको मोटरसाइकल खाल्डोमा परी अनियन्त्रित भएर मङ्गलबार बिहान दुर्घटनामा परेको थियो । 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार लेटाङ–५ का २७ वर्षीय जीवन लिम्बूको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा दिउँसो विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी २३ वर्षीय अजित लिम्बू घाइते भएका छन् । नोबेलमै उपचाररत उनको अवस्था खतरामुक्त रहेको जानकारी अस्पतालले दिएको छ ।