झापा- झापामा हायस गाडीको ढोकाबाट खसेर एक जना यात्रुको मृत्यु भएको छ । दमक नगरपालिका–४ चिया दोकानस्थित पूर्व–पश्चिम लोकमार्गमा पश्चिमतर्फ जाँदै गरेको बा ३ ख ८६२७ नम्बरको हायसबाट खसेर कमल गाउँपालिका–५ का २१ वर्षीय निर्मल खवासको मृत्यु भएको हो ।
बाहिर निस्कने क्रममा राति ९ः३० बजेतिर गाडीको ढोकाबाट खसेर खवास गम्भीर घाइते भएका थिए । दमकमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो ।
उपचारकै क्रममा खवासको राति ११ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै गाडी र चालक धनकुटाको धनकुटा नगरपालिका–१० का २७ वर्षीय प्रेम कार्कीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।















