संखुवासभामाको भिन्दाभिन्दै दुई स्थानमा दुई जनाको हत्या भएको छ । प्रहरीले हत्यामा संलग्न रहेको भन्दै दुई अभियुक्तलाई पक्राउ गरेको छ । 

आइतबार स्तन र टाउको कुटपिट गरी पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचखपन नगरपालिका-२ सिभुवाका ३३ वर्षीय दिपन राई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार २७ वर्षीया विष्णुमाया लिम्बुलाई कुटपिट गरेर हत्या गरेका हुन् । राईले मृतकको शरीरको विभिन्न भागमा निल डाम रहेको, स्तन र टाउकोमा भने गहिरो चोट रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार राति ८ बजेतिर ह्यम्मर र अगुल्ठो प्रहार गरी आफ्नै पत्नीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । निर्मम हत्यापछि उनलाई ओछ्यानमा लगेर सुताएको अवस्थामा शव भेटिएको थियो । 

मृतकको सिरानीमा ह्याम्मर भेटिएको र दागको प्रहृति हेर्दा ह्याम्मरसहित अन्य हतियार प्रयोग भएको बुभिएको छ । शव पोस्टमार्टमको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।

त्यस्तै मंगलबार खाँदबारी नगरपालिका–११ मा जीवन दर्जीको कुटपिट बाट ३० वर्षीय चन्द्रबहादुर दर्जीको मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए । उनीहरुबीच भएको विवादमा कुटपिट हुँदा चन्द्रबहादुर गम्भीर घाइते भएका थिए ।

घाइते चन्द्र बहादुरको उपचारका क्रममा जिल्ला अस्पताल संखुवासभामा मंगलबार दिउँसो मृत्यु भएको हो । हत्यामा संलग्न भएको आरोपमा जीवन दर्जीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।