मोरङ व्यापार संघले जोगबनी आएका पटना, भारतका कस्टम्स कमिश्नर पिके कट्यारसहित भारतका भन्सार अधिकारीहरुसँग भेट गरी नेपाल–भारत व्यापार सहजीकरण विषयहरुमा छलफल गरेको छ । पटनाका कस्टम्स कमिश्नरद्वारा गठित कस्टम्स क्लियरेन्स फेसिलिटेशन कमिटी (सिसिएफसी) को सदस्यको रुपमा रहेको मोरङ व्यापार संघले सोमबार आइसिपी, जोगबनीमा आयोजित सिसिएफसी बैठकमा भाग लिँदै कमिश्नर कट्यारसमक्ष संघको तर्फबाट राय सुझाव प्रस्तुत गरेको छ ।

अध्यक्ष प्रकाश मून्दडाज्यूको नेतृत्वमा गएको संघको टोली बैठकमा सहभागी भई कमिश्नर कट्यारसमक्ष भुपरिवेष्ठित नेपाल तथा मोरङ–सुनसरी आर्थिक करिडरलाई भारतले विशेष सहजीकरण गर्दै जानु पर्ने बताउँदै नेपाल–भारत व्यापार, परिवहन र विभिन्न विषय वस्तुहरु समेटी सुझाव प्रस्तुत गरेको हो ।

संघले प्रस्तुत गरेको उक्त सुझावमा विशेषगरी जोगबनी र विराटनगरका आइसिपीहरुमा निर्मित रेल्वे यार्ड तत्कालै संचालनमा ल्याउनु पर्ने, रेल्वे ट्रयाकमार्फत नेपालका लागि जोगबनी स्टेशन आउने मालवस्तुहरु हाललाई विराटनगर भन्सार कार्यालयबाटै जाँच पास गराउने व्यवस्था गरिनु पर्ने, संघले उठाएको माग बमोजिम बथनाहामा निर्माणाधिन मीरगञ्ज पुलको बैकल्पिक पुलको निर्माण कार्य तत्कालै सम्पन्न गरी शिघ्रताका साथ संचालनमा ल्याउनु पर्ने, भन्सार जाँच पासका पूर्वाधारहरु थप गर्दै जाँच पास कार्यलाई तिव्रता दिइनु पर्ने, नेपाली कृषि उपजहरुको निर्यातमा सहजीकरण हुने गरी पूर्वाधारहरु निर्माण गरिनु पर्ने, भारतको दलखोला स्थित रेल्वे जक्सन पार गर्न मालवाहक सवारी साधनहरुका लागि फ्लाइओभर निर्माण गर्नु पर्ने, जोगबनीमा अध्यागमन सुविधा उपलब्ध गराउनु पर्ने, जोगबनी स्टेशनको सौन्दर्यता बढाउँदै भारतका विभिन्न शहर पुग्ने रेल्वेहरु थप गर्नु पर्ने आदि विभिन्न विषयहरु उल्लेख गरिएका छन् ।


बैठकमा संघका अध्यक्ष मून्दडासहित निवर्तमान अध्यक्ष पवनकुमार सारडा, वरिष्ठ उपाध्यक्ष नवीन रिजाल, उपाध्यक्ष अनुपम राठीलगायतको सहभागिता रहेको थियो ।