विराटनगर- मोरङको बूढीगङ्गा गाउँपालिका–१ स्थित गङ्गा चोकमा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । हिजो राति ८ बजे कोसी लोकमार्गअन्तर्गत गङ्गा चोक उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०२–०४२ प ४२७३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ४० वर्षीय दिनेश पटेलको मृत्यु भएको हो ।
मृतक पटेल भारतीय नागरिक हुन् । सडक पार गर्दै गरेको अवस्थामा उनलाई आइतबार राति ८ बजेतिर तीव्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिएको हो । दुर्घटनामा परेर घाइते भएका पटेलको उपचारका क्रममा बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा आज (सोमबार) बिहान ६ः३० बजेतिर मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ३० वर्षीय अशोक अधिकारी पनि घाइते भएका छन् । सामान्य अवस्थाका उनको विराट शिक्षणमै उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी दिएको छ ।















