विराटनगर-सुनसरी, मोरङ र झापामा लगाइएको उखु काट्ने बेला भएको छ । यी जिल्लामा दुई हजार ४०५ किसान परिवारले पाँच हजार २०० बिघा क्षेत्रफलमा लगाएको उखु काट्ने बेला भएको हो ।

किसानको खेतमा उखु पाकेसँगै पूर्वकै एक मात्रै उद्योग इस्टर्न सुगर मिल्स प्रालिले आगामी पुस १५ गतेदेखि मिल चलाउने तयारी गरेको छ । सुनसरी बर्जु गाउँपालिका–५, अमाहीमा रहेको इस्टर्न सुगर मिलका प्रमुख उखु प्रबन्धक पवनकुमार झाले उखु प्रशोधनका लागि मिल मेसिनरी मर्मत तथा परीक्षण र सरसफाइ थालिएको जानकारी दिए । प्रबन्धक झाले भने, “पुस १५ गते पहिलो घान क्रसिङ हुन्छ । ”


जति ढिलो ग-यो किसानलाई उति घाटा हुन्छ । समयमै उखु क्रसिङ नभए उखुको रस सुक्ने र किसान मारमा पर्ने समस्या अघिल्ला वर्षहरूमा आएका थिए । गत वर्ष पनि इस्टर्न सुगर मिलले पुस १५ देखि क्रसिङ सुरु गरेर फागुन १ गते समापन गरेको थियो । यो सिजनमा तीन जिल्लाका किसानको खेतमा १४ लाख ५० हजार क्विन्टल उखु उत्पादन हुने अनुमान गरिएको छ जसमध्ये दुई लाख क्विन्टल बीउमा खपत हुनेछ ।

गत कात्तिकको पहिलो हप्ता धेरै पानी परेका कारण यो सिजनमा उखुको उत्पादन राम्रो भएको छ । गत वर्ष नौ लाख २१ हजार क्विन्टल उखु प्रशोधन गरिएको थियो । प्रतिक्विन्टल ९.३५० किलोग्राम चिनी उत्पादन भएको प्रमुख उखु प्रबन्धक झाले जानकारी दिए । चालु सिजनमा समेत १२ लाख ५० हजार उखु क्रसिङबाट ११ हजार ६८९ क्विन्टल चिनी उत्पादन हुने अनुमान गरिएको छ । सुरुमा तीन वर्षअघि लगाएको उखु काट्नका लागि मिलले पुर्जी जारी गर्नेछ । तीन वर्षपछि उखु बाली मासेर नयाँ खेती लगाउने चलन छ ।

अन्य बाली लगाउन सहज होस् भन्नका लागि मिलले सुरुमा तीन वर्षअघिको उखु काट्न पुर्जी जारी गर्ने गरेको हो । क्रसिङका लागि आवश्यक कच्चा उखुको उपलब्धता मिलाउन मितिअनुसारको ७२ घण्टामा पुर्जी किसानको घरघरमा मिलका कर्मचारीले पु-याउने गर्छन् । दैनिक ३० हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमता इस्टर्न सुगर मिलसँग रहेको छ । किसानले उखु काटेर मिलसम्म ढुवानी भएपछि तौल लिने र क्रसिङ गर्ने काम एकसाथ अगाडि बढाइने बताइएको छ ।

पूर्वका तीन जिल्लामा अघिल्लो वर्ष उखुको क्रसिङ माघ २२ देखि सुरु भएको थियो । झापा, मोरङ र सुनसरीका दुई हजार किसानले उत्पादन गरेको ११ लाख ८७ हजार ३५६ क्विन्टल उखु मिलले खरिद गरेको थियो । यो सिजनका लागि सरकारले समर्थन मूल्य तोक्ने तयारी गरिरहेको छ । गत वर्ष प्रतिक्विन्टल न्यूनतम मूल्य ५४४ रुपियाँ ३३ पैसा तोकिएको थियो जसमा उखुको मूल्य ३८६ रुपियाँ १६ पैसा, ढुवानी खर्च र मुनाफा ९२ रुपियाँ ८९ पैसा र सरकारले ढुवानीबापत दिने प्रतिक्विन्टल अनुदान ६५ रुपियाँ २८ पैसा थियो । यो सिजनमा उखुको मूल्य प्रतिक्विन्टल ६०० रुपियाँ तोकिनुपर्ने कृषक सत्यनारायण शर्माले बताए ।