विराटनगर-  जिल्ला कारागार मोरङमा ‘गुन्डानाइके’ कैदी अभिषेक गिरीले चौकीदारको जिम्मेवारी पाएका छन् । मोरङ कारागार प्रशासनले गिरीलाई चौकीदारसरह काम गर्ने गरी जिम्मेवारी दिएको हो ।

जेलर महेन्द्रसिंह खड्काका अनुसार कारागारले लिखित नियुक्ति भने दिएको छैन । तर अपराधिक पृष्ठभूमिका ‘गुन्डानाइके’ गिरीलाई चौकीदार सरह काम गर्ने गरी जिम्मेवारी दिइएको उनले बताए । मंसिर ९ गते उनलाई विराटनगरको हाटखोलास्थित मोरङ कारागार ल्याइएको थियो । 

कारागार ल्याएपछि गिरीले कैदीबन्दीको आन्तरिक प्रशासन हेर्ने चौकीदारको जिम्मेवारी पाएका हुन् । गिरीलाई विराटनगर आउन नदिन प्रदर्शन तथा आन्दोलन भएको थियो । चौकीदारको जिम्मेवारी पाएपछि पुनः प्रदर्शन हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै कारागार प्रशासनले लिखित रुपमा नियुक्त नगरिकन चौकीदारको काम गर्ने गरी जिम्मेवारी दिएको हो । 

मोरङ आउनुअघि चौकीदार कात्तिक कामतको सरुवा गरिएको थियो ।गिरीलाई मोरङ ल्याउनकै लागि कारागारबाट २३ जना कैदीबन्दीको सरुवा पनि गरियो । गत भदौ १७ गते डिल्लीबजार कारागारबाट मोरङ सरुवाको निर्णय भएपछि गिरीलाई कात्तिक १६ गते बिहान पहिलो पटक विराटनगर ल्याइएको थियो । तर कैदीबन्दीले प्रदर्शन गर्दै प्रवेश गर्न दिएनन् ।