विराटनगर-भन्सार छलेर भारतबाट विराटनगर भित्र्याइएको कपडा प्रहरीले गोदाममा राखेको अवस्थामा फेला पारेको छ । विराटनगर-९ भानुटोलबाट एक व्यापारीले तस्करी गरि ल्याएको कपडा प्रहरीले शुक्रबार छापामारि बरामद गरेको हो ।


१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको र गणको सादा पोशाकको प्रहरीले विनोद अग्रवालको घरमा भण्डारण गरि राखिएको ३५ बोरा कपडा बरामद गरेको हो । बरामद गरेको कपडा विराटनगरका व्यापारी बब्लु अग्रवालको रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।


बब्लुले भारतदेखि अवैध रूपमा तस्करी गरेर कपडा ल्याउने गर्दछन् । उनले क्यारिङ गराएर भण्डारण गर्ने र व्यापारीले भनेको ठाउँमा पुर्‍याउने जिम्मा लिने गर्दछन् । यसरी क्यारिङ गरेको कपडा गन्तब्यसम्म पुर्‍याउँदा उनले पिस हिसाबले व्यापारीसँग पैसा लिने गर्दछन् । प्रहरीले शुक्रबार बरामद गरेको कपडा लाखौं मुल्य बरावरको रहेको छ । १ बोरामा ५० देखि ७० पिस कपडा छन । बरामद गरेको कपडा भेस्ट, साडी, कुर्ता सुरूवाललगायतका सामान रहेका छन् ।


बब्लुले तस्करी गरि ल्याएको कपडा बसपार्क पूर्वमा रहेको उनका मामा विनोदको घरको गोदाममा ल्याएर राख्ने गरेका थिए । उनले भारतदेखि तस्करीको कपडा ल्याउन दुई दर्जन भरिया प्रयोग गर्दछन् । कपडा गोदामसम्म भरियाले ल्याइपुर्‍याउँदा ५ सय देखि एक हजार रुपैयाँसम्म दिने गरेका छन् ।

फोटो पनि छ ।