काठमाडौँ, मङ्सिर १७ गते । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनबाट पार्टीलाई अझ बलियो बनाउनुपर्ने बताएका छन् । महाधिवेशनबाट पार्टीलाई बलियो बनाएर आगामी तीनै तहको निर्वाचनमा विजयी गराउनुपर्ने दायित्व सबैको काँधमा रहेको बताए  ।

प्रदेश नम्बर १ को प्रथम प्रदेश अधिवेशनको भर्चुअलरुपमा उद्घाटन गर्दै उनले अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कांग्रेसको अगुवाइमा आएको उल्लेख गरे । 

उनले कांग्रेसले सबै ठूला परिवर्तनको नेतृत्व गरेर मुलुकमा समृद्धिको पूर्वाधार खडा गरेको बताए । संविधान जारी भएपछि प्रदेशको यो ऐतिहासिक पहिलो अधिवेशन भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भने, ‘केही महिनाभित्रै स्थानीय तहको निर्वाचन तथा एक वर्षभित्र सङ्घ र प्रदेशको निर्वाचनमा जाँदैछौँ ।’

सभापति देउवाले १४ औँ महाअधिवेशन लगत्तै सबैको ध्यान तीनै तहका चुनावतर्फ हुनुपर्नेमा जोड दिए ।