विराटनगर । विराटनगरमा युवा उद्यमी महिला सम्मेलन हुने भएकाे छ । युवाहरूको ज्ञान र सीपलाई उद्यमशीलता विकासतर्फ आकर्षित गराई स्वरोजगारको माध्यमबाट आर्थिक एवं औद्योगिक विकासतर्फ उन्मुख गराउन सम्मेलनकाे आयाेजना गर्न लागिएकाे आयाेजक नेपाली युवा उद्यमी मञ्चले जनाएको छ ।

युवा उद्यमी मञ्च विराटनगर च्याप्टरको आयोजनामा एकदिने युवा उद्यमी महिला सम्मेलन २०२१ हुन लागेको अध्यक्ष युनेश श्रेष्ठले जानकारी दिए । महिलाहरूले आर्जन गरेको सीपलाई उद्यमशीलतामा परिवर्तन गरी आयआर्जनतर्फ उन्मुख गराई महिला सशक्तीकरणमा सहयोग पुर्‍याउने उद्देश्य लिई सम्मेलनकाे आयाेजना गरिएकाे आयोजककाे दाबी छ ।

सम्मेलनमा व्यापार विस्तारको योजना, बजारीकरण, कानुनी प्रावधानहरू, महिला उद्यमशीलताको विकासका लागि सरकारको योजना, बैंक तथा वित्तीय संस्थाले महिला उद्यमीहरूलाई प्रदान गरेको सहुलियतलगायत विविध पक्षहरूको विषयमा प्रस्तुति गरी अन्तरक्रिया गरिनेछ ।

व्यापार व्यवसाय गर्ने सोच बनाएका, भर्खरै व्यापार व्यवसायको प्रारम्भ गरेका महिलाहरूलाई व्यवसाय विस्तारमा सहयोग पुर्‍याउने लक्ष्यका १५० उद्यमी सहभागी हुनेछन् । सम्मेलन शनिबार हुनेछ ।