विराटनगर - नेपाली कांग्रेस मोरङको क्षेत्र नम्बर ६ को क्षेत्रीय सभापतिमा देवराज तामाङसहित उनको प्यानलै निर्वाचित भएको छ । बुधबार बिहान सम्पन्न मतगणनाअनुसार तामाङले ३२० मत प्राप्त गरेका हुन् । सभापतिका प्रतिद्वन्द्वी चेतराज रेग्मी १०८ मतले पराजित भएका छन् ।

तामाङ कांग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइरालाको समर्थनमा उम्मेदवार बनेका हुन् । क्षेत्र नं. ६ कोइरालाले निर्वाचन लडेकै क्षेत्र हो । क्षेत्रीय समितिका पदाधिकारी र सदस्यको मतगणना सम्पन्न गरी अहिले महाधिवेशन प्रतिनिधिको गणना जारी रहेको जनाइएको छ ।

क्षेत्र नं. ६ को क्षेत्रीय समितिको सचिवमा जितेन्द्र गोल्छा र लोकनाथ चौधरी, सह–सचिवमा केशव गिरी र प्रेमप्रसाद ढुंगेल निर्वाचित भएका छन् । त्यसैगरी सुनसरीको क्षेत्र नं. १ को सभापतिमा सुजेन्द्र तामाङ निर्वाचित भएका छन् । उनले तामाङले १६८ को भारी मतान्तरले लक्ष्मी खतिवडालाई पराजित गरेका हुन् ।

खतिवडा संस्थापन पक्षकी उम्मेदवार थिइन् । तामाङले ३८३ मत प्राप्त गरेका हुन् । क्षेत्रीय समितिको सचिवमा केशव पुरी र महेन्द्र प्रधान तथा सह–सचिवमा भोजराज न्यौपाने र सुमित राई विजयी भएको जनाइएको छ ।