उदयपुर- चौदण्डीगढी नगरपालिकाको पहाडी क्षेत्रमा रहेको ऐतिहासिक चौदण्डीगढी क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएको छ । मङ्सिर लागेपछि घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । गत वर्ष चैतदेखि यस वर्ष कात्तिकसम्म कोभिड–१९ सङ्क्रमण महामारी र लकडाउनका कारण पर्यटन आगमन ठप्प भएको सो क्षेत्रमा विस्तारै आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका चौदण्डी पर्यटन विकास व्यवस्थापन समितिका संयोजक रोहित तामाङले बताए ।

कोभिड–१९ का कारण लामो समयदेखि उक्त क्षेत्रमा पर्यटक आगमन ठप्प थियो । छिमेकी भारतबाट समेत पर्यटक चौदण्डीको भ्रमणमा आउन थालेको संयोजक तामाङले बताए । चौदण्डीगढी नपाका प्रमुख खगेन्द्र राईका अनुसार चौदण्डीगढीको पर्यटन विकासको पूर्वाधारका सम्पूर्ण काम निर्माण तथा व्यवस्थापन भइसकेका कारण पर्यटकलाई आवतजावत गर्न सहज भएको हो ।

“अब पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ”, उनले भने । चौदण्डीमा भ्यूटावर, खानेपानीसहित सडक व्यवस्थापन कार्य सम्पन्न भइसकेको छ । त्यसैले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो । 

नगरपालिकाले प्रदेश सरकार र सङ्घीय सरकारसँग सहकार्य गर्दै चौदण्डीको पर्यटन विकासमा नयाँ योजना सञ्चालन गरेको नगरप्रमुख राईले बताए । समुद्री सतहबाट एक हजार ८०० मिटर उचाइमा अवस्थित चौदण्डीगढीबाट उत्तरी क्षेत्रको महत्वपूर्ण आठ हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । यहाँबाट प्रदेश नं १ को धनकुटा, भोजपुर, खोटाङ र सङ्खुवासभाको अवलोकन गर्न सकिन्छ ।