दमक-झापामा एक निर्माण व्यवसायीले निर्माणको सम्झौता सकिनुभन्दा झण्डै एक वर्षअघि नै निर्माणको जिम्मा लिएको काम सम्पन्न गरेको पाइएको छ । झापाको हल्दिबारी गाउँपालिका वडा नं.३ मा मेनर्जी चोकबाट उत्तर कन्टरघुटु हुँदै रामहरि चोक जाने बाटो कालोपत्रे निर्धारित समयभन्दा झण्डै एक वर्ष अघि नै सकिएको गाँउपालिकाका उपाध्यक्ष डम्बर गिरीले बताए ।
गाउँपालिका, प्रदेश सरकार, संघीय सरकारको संयुक्त लगानीमा चार हजार दुई सय मिटर सडक कालोपत्रे चाँडो सकिएको हो । खनाल इभरग्रीन जेभी बिर्तामोडले २०७७ चैत २२ गते गाउँपालिकासँग निर्माण सम्झौता गरेको र उक्त सम्झौतामा २०७९ असाेज ६ गते निर्माण सम्पन्न गर्ने उल्लेख रहेकोमा यही साता काम सकेको गिरीले जनाए । दुई करोड ९६ लाख ७१ हजार लागतमा निर्माण सम्झौता भएको थियो ।
समयावधि भन्दा करिब ११ महिना अघि काम सम्पन्न गरेर गाउँपालिकालाई जिम्मा दिने अवस्थामा पुर्याएको खनाल इभरग्रीन जे भि का सञ्चालक भरत भट्टराईले बताए । हल्दिबारी ३ मेजर्नी चोकदेखि रामहरी चोकसम्म कालोपत्रे भएको हो । सडकको दाँया बाँया ३० फुटे चौडा रहने र ५ मिटर कालो पत्रे गरिएको पनि भट्टराईले जनाए ।
गाउँपालिका उपाध्यक्ष गिरीका अनुसार आफूहरु निर्वाचित भए पश्चात गाउँपालिका भित्रका २० किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ र अन्य ३० ठेक्का सम्झौता भएर काम भइरहेका छन् । अहिलेसम्म सम्झौता भएर यसरी छिटो काम सकिएको यो नै भएको पनि उहाँले जानकारी दिए ।















