झापा-दशौँ राष्ट्रिय कर दिवसका अवसरमा बिर्तामोडमा आज प्रभातफेरि कार्यक्रम आयोजना गरिएको छ  । आन्तरिक राजस्व कार्यालय  र बिर्तामोड उद्योग वाणिज्य सङ्घका संयुक्त आयोजनामा  आयोजित सो र्याली  मुक्तिचोकबाट सुरु भई  बजार परिक्रमा गरेको थियो ।

प्रभातफेरि कार्यक्रममा प्रमुख जिल्ला अधिकारीसहित सरकारी कार्यालयका प्रमुख, विभिन्न सङ्घसंस्था र विद्यार्थीको उपस्थिति रहेको थियो । यस वर्षको कर दिवसका मुख्य नारा ‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धि : सुशासन विकास र समृद्धि’ भन्ने रहेको छ ।  प्रभातफेरीमा सहभागीले ‘हाम्रो करबाट हाम्रै सेवा, राष्ट्रिय निर्माणमा बलियो टेवा, हाम्रो राजस्व हाम्रो धन, समृद्ध नेपाल सुखी जन, कर र करदाताको सही पहिचान, समृद्ध निर्माणमा सबैको योगदान’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

आजदेखि सुरु भएको कर दिवस कार्यक्रममा करदातालाई सम्मान, २ गतेदेखि ६ गतेसम्म जिल्लाका विभिन्न उद्योग वाणिज्य सङ्घको समन्वय र सहकार्यमा करदाता शिक्षा र सचेतनामूलक कार्यक्रम र ७ गते समापन गरिने जनाइएको छ । कार्यालयअन्तर्गत व्यावसायिक र व्यक्तिगत गरी एक लाख २०४ करदाता छन् । कार्यालयको चालु आर्थिक वर्ष २०७८÷७९ मा रु तीन अर्ब ४० करोड ७४ लाख राजस्व असुलीको लक्ष्य छ ।