विराटनगर- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज (बुधबार)प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । मंगलबार नेवपाल बन्दका कारण विश्वासको मत लिन रोकिएका राईले आज साढे ११ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिँदैछन् ।

मंगलबार नै लिने कार्यसूची रहेकामा सरकारले गरेको इन्धनको मूल्य वृद्धिको विरोधमा नेकपाले गरेको नेपाल बन्दले उनको प्रस्तावमाथि छलफल हुन सकेको थिएन ।

बन्दबाट बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरु अनपस्थित रहेको जनाउँदै सभामुख प्रदिवकुमार भण्डारीले बैठक आजसम्मका लागि स्थगित गरेका थिए । एमालैलाई देखाएर बैठक स्थगित गरेको भन्दै राईले सभामुख भण्डारीको आलोचना गरेका थिए ।

पाँच दलीय गठबन्धनको समर्थनमा कार्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका राईले संविधानबमोजिम नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

बैठबबाट विश्वासको मत अर्थात बहुमत हासिल गर्न नसके स्वत मुख्यमन्त्री पदबाट हट्नेछन् । विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा राई छन् । उनलाई विश्वासको मत प्राप्त हुने पक्का जस्तै छ ।