विराटनगर- विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले ऐतिहासीक सहर विराटनगरलाई आध्यात्मिक सहर बनाउन आफू प्रयासरत रहेको बताएका छन् । 

सोमबार साँझ विराटनगर–३ मा रहेको योगमाया प्रतिष्ठानको स्रष्टा सम्मान तथा कृति लोकार्पण कार्यक्रममा बोल्ने क्रममा पराजुलीले आध्यात्मिकताले मानवलाई नैतिक आचरणमा रहन सहयोग पुर्याउने भन्दै विराटनगरलाई आध्यात्मिक सहर बनाउन प्रयासरत रहेको बताएका हुन् । 

विराट राजाले राज्य गरेको विराटनगरको ऐतिहासिकताको बारेमा प्रष्ट्याउँदै उनले आध्यात्मिक पक्षहरुलाई जोडेर विराटनगरलाई विराट राजाको दरवार बनाउने अभियानमा आफूहरु लागेको बताए । 

२५ सय वर्षअघिको बिराट दरवारको युरोपियन टोलीहरु ल्याएर उत्खनन् गर्दा यसको भूगर्भमा बहुमुल्य वस्तुहरु भेटिएको समेत उनले जनाए । विराट दरबार क्षेत्र बनाउन सकियो भने विराटनगरलाई संसारमा चिनाउने र विश्वसम्पदा सूचीमा समेत सूचिकृत गर्न सकिने बताए । 

विराटनगर–३ मा रहेको हलेसी महादेव मन्दिरमा लगाइएको श्रीमद भगवत महापुराणको छैटौँ दिनका प्रमुख अतिथिसमेत रहेका पराजुलीले धार्मिक पर्यटनको अथाह सम्भावना रहेको यस महानगरमा संसारका सबै मानिसहरुको आकर्षणको केन्द्र बनाउन सक्ने बताए । 

‘योगमाया देशकै बिरंगना हुनुहुन्छ’, उनले भने, ‘महिलामुक्तिको लागि मात्र होइन समाज सुधारकको लागि यस्तो ब्यक्तित्व जसले सधैँ त्यागमात्र गरिरहनु भयो । आफ्नो लागि कहिले बाँच्नु भएन । उहाँजस्तो बिरंगनाको कदरका लागि राज्यले जसरी लाग्नुपर्थ्यो त्यसअनुसार लाग्न सकेन ।’ योगमाया जस्तो ब्यक्तित्व नेपालमा मात्रै नभएर दक्षिण एसियामानै नरहेको उनको भनाइ छ ।