विराटनगर- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको आह्वानका कारण आज विराटनगरमा सामान्य प्रभाव परेको छ । पेट्रोलियम पदार्थ (इन्धन)मा भएको मूल्यवृद्धिको विरोधमा विप्लवले गरेको बन्दको प्रभावस्वरूप विराटनगरबाट चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन चलेका छैनन् भने शैक्षिक संस्था बन्द छन् ।

बन्दमा अप्रिय घटना हुन नदिन सुरक्षाकर्मी बाक्लै खटाइएका कारण केही पसलहरु भने खुला छन् । विराटनगरस्थित बसपार्कबाट सार्वजनिक सवारीसाधन चलेनन् । बिहानैदेखि मुख्य राजमार्ग सुनसान देखिएको छ । यातायात क्षेत्रमा बन्दको प्रभाव परेपछि यात्रुहरू मार्कामा परेका छन् । गन्तव्यमा हिँडेका यात्रु बजार र चोक–चोकमा अलपत्र परेका छन् ।

शैक्षिक क्षेत्रमा भने बन्दको पूर्ण प्रभाव परेको छ । निजी विद्यालयहरूले आज पठनपाठन गराउन नसकिएको जनाएका छन् । कोरोना महामारीले लामो समयदेखि असर गरिरहेको शैक्षिक क्षेत्रमा समेत बन्दको प्रभाव परेसँगै विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ । विराटनगरका निजी तथा सामुदायिक विद्यालय र कलेजहरू बन्द गरिँदा विद्यार्थीहरूको पठनपाठन प्रभावित बनेको छ ।