विराटनगर-मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । मुख्यमन्त्रीले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव कात्तिक २८ गते नै प्रदेशसभा सचिवालयमा दर्ता गराइसकेका छन् । 

प्रदेशसभाबाट विश्वासको मत लिनुभन्दा दुई दिनअघि प्रस्ताव दर्ता गरिसक्नु पर्ने संसद नियमावलीको व्यवस्था अनुसार मुख्यमन्त्रीले आइतबार प्रस्ताव दर्ता गराएका थिए । विश्वासको मत लिने तयारी स्वरुप सोमबार सत्ता गठबन्धन दलहरुको बैठक बसेको थियो । बैठकले सत्तारुढ दलहरुमा आउन सक्ने सम्भावित असन्तुष्टिलाई सम्बोधन गर्ने प्रयत्न पनि गरेको छ ।

बैठकले सत्तागठबन्धनको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस संसदीय दलको नेता राजीव कोइरालाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको छ । संयन्त्रले सरकारसँग नीतिगत र गठबन्धनलाई मजबुद बनाउने विषयमा समन्वय गर्ने बताइएको छ ।