ओखलढुङ्गा-ओखलढुङ्गाको सुनकोसी गाउँपालिका–९ बुलडाँडामा सोमबार बिहान भएको बलेरो जिप दुर्घटनामा मृत्यु हुने चारै जनाको सनाखत भएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार उक्त दुर्घटनामा तीन महिला र एक पुरुषको मृत्यु भएको छ ।
प्रदेश १ प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी नवीन राईका अनुसार मृत्यु हुनेमा सिद्धीचरण नगरपालिका–१० बस्ने ३५ वर्षीया मिठुमाया मगर, १६ वर्षीया तुलसा मगर, १९ वर्षीय खगेन्द्र मगर र ३६ वर्षीया शान्तामाया मगर रहेका छन् । उनीहरूलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।
आज बिहान साढे ७ बजेको समयमा ओखलढुङगाको च्यामनबाट ककनी मन्दिरतर्फ दर्शनार्थी बोकेर जाँदै गरेको प्रदेश–३–०१–०२२ च ९६९४ नम्बरको बोलेरो जिप आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेको थियो ।
दुर्घटनामा अरू १२ जना घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएकामध्ये चार जनालाई मुस्ताङको एयरको हेलिकोप्टरद्वारा काठमाडौँ पठाइएको एसपी राईले जानकारी दिए ।
यस्तै, घाइते तीन जनाको स्वास्थ्य चौकी कटुन्जेमा उपचार भइरहेको छ भने अन्य घाइतेहरूलाई मिसन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















