सुनसरीमा पानी जमेको खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ । सुनसरीको गढी गाउँपालिका–६ स्थित कोसी इँटा उद्योगमा पानी जमेको खाल्डोमा डुबेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
मृत्यु हुनेमा उक्त इँटा भट्टामा काम गर्ने भारतीय मजदुर सरोद बरमडका चार वर्षीय छोरा दीपु बरमड र मिथु बरमडका चार वर्षीय छोरा पियाउ बरमड रहेको प्रहरीले जनाएको छ ।
सुनसरी प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र कार्कीका अनुसार आइतबार अपरान्ह ४ बजेको समयमा उक्त स्थानमा खेल्दै गरेका बालक अचानक पानी जमेको खाल्डोमा डुबेका थिए ।
पानीमा डुबेको अवस्थामा उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल इनरुवा लगिएकोमा बाटैमा दुवैको मृत्यु भएको उनले जानकारी दिए । उनका अनुसार उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेकोे छ ।















