चालु आर्थिक वर्षको पहिलो तीन महिनामा देशको पूर्वी नाका काँकरभिट्टाबाट कृषिजन्य वस्तुको आयात निर्यातको तुलनामा दुई गुणा बढी भएको छ । विगतमा भने यो नाका भएर कृषिजन्य वस्तुको निर्यात बढी हुने गरेको थियो ।

क्वारिन्टिन कार्यालय काँकरभिट्टाका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा रु. चार अर्ब १९ करोड ६० लाख छ हजार बढीको कृषिजन्य वस्तु आयात भएको छ । सो अवधिमा नेपालबाट बङ्गलादेश, भारतलगायतका स्थानमा रु. दुई अर्ब २४ करोड ९७ लाख पाँच हजारको सामग्री मात्र निर्यात भएको कार्यालयका प्रमुख देविन्द्र साहुले बताए । 

यस अवधिमा नेपालमा सबैभन्दा बढी भटमासको ब्रान (पशु आहारका लागि) रु. एक अर्ब ९२ करोड ४६ लाख ५० हजार, भटमासकै दाना (तेलका लागि) रु. एक अर्ब छ करोड ४३ लाख ६४ हजारको बङ्गलादेशबाट आयात भएको छ । मूल्यको हिसाबले दोस्रोमा इन्डोनेसियाबाट सुपारी आयात भएको देखिएको छ । तीन महिनाको अवधिमा रु. ३४ करोड, पाँच लाख ६१ हजारको सुपारी आयात भएको छ ।

त्यसै गरी, भारतबाट ठूलो परिणाममा धान र चामल भित्रिएको छ । भारतबाट रु. २३ करोड ९२ लाखको धान र रु. आठ करोड ११ लाख ६४ हजारको चामल आयात भएको छ । नेपालबाट भारत र बङ्गलादेश अम्रिसोको कुचो निर्यात बढी भएको देखिन्छ । कार्यालयको तथ्याङ्कमा रु १६ करोड ३७ लाख ८० हजार मूल्य बराबरको अम्रिसो निर्यात गरेको देखिएको छ । यो नाकाबाट अलैँची, अदुवा, लसुन, मजिठो, अर्ग्यानिक चिया, जडीबुटीजन्य पदार्थसमेत निर्यात हुँदै आएको छ ।