विराटनगर-विराटनगर महानगरका मेयर भीम पराजुलीले सूर्यको आराधना गरेर मनाइने छठ पर्वमा ‘दण्डप्रणाम’लाई निरन्तरता दिने भएका छन् । छठ पर्वको आज तेस्रो तथा मुख्य दिन महानगर प्रमुख पराजुलीले १८औँ पटकको दण्डप्रणामलाई निरन्तरता दिँदै छठ पर्व मनाउने भएका हुन् ।
अघिल्ला वर्षहरूका छठमा ब्रत बसेर साष्टाङ्ग दण्डप्रणाम गर्दै घाटको यात्रा गर्ने मेयर पराजुलीले यस पटक पनि निरन्तरता दिने भएका हुन् । अघिल्लो वर्ष भने कोरोना भाइरस महामारीका कारण घरमै बसेर उनले छठ मनाएका थिए ।
यस पटक उनी विधिअनुसार छठमा निराहार ब्रत बसेर साष्टाङ्ग दण्डप्रणाम गर्दै अढाइ किलोमिटरको दूरीमा रहेको सिंघिया घाटसम्मको यात्रा गर्ने भएका हुन् ।
पराजुलीले विराटनगर–३ ठूलोमिल चोकमा रहेको शिव पञ्चायन मन्दिरबाट सिङ्घीया खोलामा राखिएको पूजास्थलसम्मका लागि दण्डप्रणाम गरेर घस्रँदै घाटसम्मको यात्रा गर्नेछन् ।














