काठमाडौँ - सरकारले १ नम्बर प्रदेश प्रमुखमा पर्शुराम खापुङलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सोमनाथ अधिकारी ‘प्यासी’लाई बर्खास्त गर्दै खापुङलाई नियुक्त गर्न सिफारिस गरेको हो ।
खापुङ जनता समाजवादी पार्टीका नेता र रहेका पूर्वसभासदसमेत हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं. १ का साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखहरू नियुक्त गरेकी छन् ।
कर्णाली प्रदेशको प्रमुखमा तिलक परियार र सुदूरपश्चिम प्रदेशको प्रमुखमा देवराज जोशीलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । मन्त्रिपरिषद्को मिति २०७८/७/२२ गतेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।
आजै तीन जना प्रदेश प्रमुखहरूलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले पदमुक्त गरेकी थिइन् ।















