विराटनगर-शौर्य एयरलाइन्सले पहिलोपटक विराटनगर–भैरहवा हवाई उडान सुरु गरेको छ । यो सँगै प्रदेश १ र लुम्बिनी प्रदेश हवाई उडानसँग जोडिएका छन् । सोमबार शौर्य एयरलाइन्सको जहाजले पहिलो उडान भरेको छ । हवाई उडान सुरु गरिएसँगै भैरहवा र विराटनगरको पर्यटन प्रवर्द्धनमा थप मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
अहिले दैनिक एउटा उडान सुरु गरेको शौर्य एयरलाइन्सले यात्रुको माग बढेमा एक दिनमा दुईदेखि तीनवटासम्म उडान भर्न सकिने जनाएको छ । आठ वर्षदेखि सेवा दिँदै आएको एयरलान्सले ५० सिट क्षमताको जहाजबाट दुवै औद्योगिक तथा पर्यटकीय क्षेत्रलाई जोड्न उडान सुरु गरेको हो ।
यसअघि कुनै पनि एयरलाइन्सले विराटनगरका लागि भैरहवाबाट नियमित सीधा उडान भरेका थिएनन् । शौर्यले दैनिक भैरहवाबाट दिउँसो ३ः४५ बजे विराटनगर उडान भर्ने छ । जहाज यात्रु लिएर विराटनगरबाट साँझ ५ः१० बजे भैरहवा फर्कने छ ।















