इटहरी- सुनसरीको कोसी गाउँपालिकामा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । आइतबार कोसी गाउँपालिका- ८ भण्टाबारी चोक त पुर्व-पश्चिम राजमार्गमा भएको उक्त दुर्घटनामा सोही स्थानका ३० वर्षीय अल्ताप मियाँ र ३० वर्षकै गियासुदिन मियाँ मृत्यु भएको हो ।
प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका अनुसार हिजो बिहान १० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र१-०१-००१ ख ३५३० नम्बरको बसले विपरीत दिशातर्फबाट आउँदै गरेको प्र.२-०१-००१प ०७६३ मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट चालक अल्ताप र पछाडि सवार गियासुदिन गम्भीर घाइते भएका थिए । उनीहरूको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा बिहान साढे ११ बजे मृत्यु भएको प्रदेश १ ट्राफिक कार्यालयका प्रवक्ता डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।
उनका अनुसार बस चालक झापा कनकाई नगरपालिका ३ सुरुङ्गा का ५५ वर्षीय पुष्प अधिकारी जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेका छन् । दुर्घटना भएका दुवै साधन सुनसरी प्रहरी कार्यालयमा रहेका छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी तिम्सिनाले जानकारी दिए ।















