विराटनगर- कात्तिक २० गते शनिबार राति जिल्ला प्रहरी कार्यालय मोरङ अगाडि दुई समूहबीच ‘ग्याङ फाइट’ भएको थियो । भाइटीकाको दिन विराटनगर–१ शङ्कर चोकस्थित नातिकाजी मास्केको घरछेउ दुई समूहबीच झडप हुँदा मास्केको घर तोडफोडसमेत भएको थियो । 

मदिरा सेवन गरी देउसी खेलेर घर फर्किने क्रममा राति १० बजेतिर दुई सयभन्दा बढी सङ्ख्यामा रहेका मानिसबीचको दुई समूहबीच झडप भएको थियो । पटाका पड्काएको विषयमा भएको सामान्य विवादले उग्र रूप लिएपछि ‘ग्याङ फाइट’ भएको प्रहरीले जनाएको छ । मानवीय क्षति नभएपनि उनको घरको पर्खाल, झ्याल, ढोका, मिटर बक्स र फर्निचरलगायतका सामानमा क्षति पुगेको छ ।

बेलुकी ९ बजेदेखि सुरु भएको सामान्य विवाद एक घण्टासम्म जारी थियो । झडपमा संलग्न दुई समूहमध्ये एक समूहका एक जनालाई मास्केले आफ्नो घरमा संरक्षण दिएको भन्दै अर्काे समूहका मानिसले मास्केको घरमा तोडफोड गरेका थिए । झडपमा पर्दा विराटनगर–१ विरेन कामत घाइते भएको छन् भने प्रहरीले दुई जनालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

घटनामा संलग्नता भएको आरोपमा दुई जनालाई पक्राउ गरी अहिले अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए । पक्राउ परेका व्यक्तिको नाम प्रहरीले गोप्य राखेको छ । घटनास्थलमा प्रहरी चाँडैँ नपुग्दा घटना भएको स्थानीयको भनाइ छ ।

स्थानीयका अनुसार शङ्गर चोकका चार जना युवाहरूको समूह देउसी खेलेर घर फर्किँदै थियो । घर फर्किने क्रममा शान्ति चोक पुगेपछि समूहकै केहीले जथाभाबी पटका पड्काउन थालेका थिए । जथाभाबी पड्काएको पटकाको छिटा एक स्थानीयको जिउमा समेत परेको थियो ।

राति भइसकेको हुनाले धेरै होहल्ला नगर्न र पटका नपड्काउन शान्ति चोकका युवाहरूले उनीहरूसँग आग्रह गरे । तर उनीहरू मानेनन् । उनीहरूले नमानेपछि सोही निहुँमा शान्ति चोक र शङ्कर चोकका युवाहरूबीच एकापसमा झडप भएको हो ।