विराटनगर-मोरङमा शनिबार साँझ भएको सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । केराबारी– ९ बेलचौरीमा भएको सवारी दुर्घटनामा परी २ जनाको घटनस्थलमै र अर्का एकको उपचारको क्रममा मृत्यु भएको हो ।

मोरङको भित्री सडकअन्तर्गत बेलचौरीमा दक्षिणबाट आएको बा १० च ४३०० नम्बरको स्कार्पियो गाडी र को ४० प १७२७ नम्बरको मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

मृत्यु हुनेमा लेटाङ २ का ३० वर्षीय कमल कार्की, ४५ वर्षीय सीता कार्की र ५५ वर्षीय तिलकबहादुर सुवेदी छन् । मृतक तीनै जना तिहारको टीका लगाएर एउटै मोटरसाइकलमा घर फर्किँदै थिए । 

कमल र तिलकबहादुरको घटनास्थलमा मृत्यु भएको थियो । सीताको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कार्पियोमा सवार यात्रुहरू सामान्य घाइते छन् । 

स्कार्पियो चालकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले बताए । दुर्घटना भएका दुबै सवारी साधन इलाका प्रहरी कार्यलय बेलबारीमा राखिएको छ ।