विराटनगर- जिल्ला प्रहरी कार्यालय माेरङअगाडि एक घरमा तोडफोड भएको छ । विराटनगर-१ शंकर चोकस्थित देविका मास्केको घरमा ठुलो सङ्ख्यामा आएको मानिसको हुलले तोडफोड गरेको हो ।  

भाइटीकाको साँझ दुई समूहबीच भएको सामान्य विवादले उग्र रूप लिएपछि विवाद ग्याङ्ग फाइटमा परिणत भएको थियो । झगडामा संलग्न दुई समूहमध्ये एक समूहका एक जनालाई मास्केले आफ्नो घरमा संरक्षण दिएको भन्दै अर्काे समूहका मानिसले मास्केको घरमा तोडफोड गरेका हुन् ।

झडपमा पर्दा विराटनगर-१ विरेन कामत घाइते भएकाे छन् । प्रहरीले दुई जनालाई पक्राउ गरेकाे माेरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । 

घटनामा संलग्नता भएकाे आराेपमा दुई जनालाई पक्राउ गरि अहिले अनुसन्धान भइरहेकाे उनले जानकारी दिए । पक्राउ परेका व्यक्तिकाे नाम प्रहरीले गाेप्य राखेकाे छ ।

मदिरा सेवन गरेपछि शंकरपुर र शान्ति चाैकका युवाहरू बीच झडप भएकाे थियाे । एउटा समुहले विराटनगर १ स्थित नातिकाजी मास्केकाे घर ताेडफाेड गरिदिएकाे छ ।

ताेडफाेड गर्ने समूह पहिचान गर्ने र घटनामा संलग्नताकाे खाेजीकार्य गरि अनुसन्धान सुरु गरेकाे प्रहरीले जनाएकाे छ । घटनास्थलमा प्रहरी चाँडैं नपुग्दा घटना भएकाे स्थानीयकाे भनाइ छ ।

 राति १० बजे भएको उक्त तोडफोडमा मास्केको घरको झ्याल–ढोका, पर्खाल, फर्निचरलगायतमा क्षति पुगेको छ ।