विराटनगर — जोगबनी नाकाबाट तिहार र छठ पर्वका लागि साढे सात करोड मूल्य बराबरको झिलिमिली बत्ती आयात भएको छ । विराटनगर भन्सार कार्यालयको तथ्याङ्कअनुसार ७ करोड ५८ लाख ७७ हजार मूल्य बराबरको झिलिमिली बत्ती आयात भएको हो ।

भन्सार अधिकृत अमित तिवारीका अनुसार गत वर्ष अन्य नाका बन्द हुँदा यो नाकाबाट २४ करोड ७३ लाख ३४ हजार मूल्य बराबरका बत्ती भित्रिएको थियो ।सजावटका लागि प्रयोग गरिने पलास्टिक फूल र गोदावरी फूल आयातमा ६५ लाख ७६ हजार रुपैयाँ विदेसिएको छ ।

तिहारमा प्रयोग गरिने खाद्य सामग्री र बत्ती गरेर  यस वर्ष १८ करोड ५ लाख ६४ हजार रुपैयाँ बाहिरिएको छ । भन्सार कार्यालयका अनुसार ६४ लाख ६९ हजार मूल्यको २१ हजार ८ सय ८८ किलो पलास्टिक फूल र एक लाख ७ हजार मूल्यको २ हजार ३ सय ८० किलो गोदावरी फूल तिहारका लागि आयात भएको छ ।

तिहारका लागि यो नाकाबाट यसपटक १ करोड २५ लाख २२ हजार मूल्यको १३ हजार २ सय ८४ किलो काजु आयात भएको छ । त्यसैगरी १९ लाख ८४ हजार मूल्यको १० हजार ५० केजी नरिवल, ५ करोड ९३ लाख मूल्यको ९५ हजार ५ सय ९७ किलो बदाम, एक करोड २२ लाख ३७ हजार मूल्यको ४० हजार २ सय ४० किलो ओखर, ६३ लाख ६८ हजार ६ सय मूल्यको पिस्ता र ओखर आयात भएको छ । भन्सारका अनुसार गत वर्ष तिहारका लागि यो नाकाबाट ओखर मात्र २३ करोड ९५ लाख ४० हजार मूल्यको आयात भएको थियो ।