विराटनगर – प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई तथा अन्यमन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले सपथ लगत्तै संचारकर्मीसंग प्रदेशको नामाकरण गर्ने र बजेटको दायरा बढाउने प्रतिक्रिया दिएका छन । उनले नराम्रो काम नगर्ने राम्रो कामलाई प्राथमिकता दिने बताए । 


प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता राईलाई गठबन्धनको तर्फबाट मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रस्ताव गरिएको थियो । ४९ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका राईलाई प्रदेश प्रमुख प्यासीले केही बेरअघि नियुक्त गर्नुभएको थियो ।


मुख्यमन्त्री राईले गठबन्धन दलहरुमध्ये नेपाली काँग्रेसबाट दुई, र अन्य दलबाट एकएक जनालाई समेटेर ६ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । मुख्यमन्त्री राईले नेपाली कांग्रेस संसदीय दलका नेता हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजना मन्त्री, कांग्रेसका प्रमुख सचेतक केदार कार्कीलाई आन्तरिक मामिला तथा कानून मन्त्री, जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता जयराम यादवलाई सामाजिक विकास मन्त्री, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद बिष्णुमाया तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गरेका हुन् ।

को हुन मुख्यमन्त्री राजेन्द्र राई ?

नेकपा एमालेमा जब केपी शर्मा ओली नेतृत्वमा उदाए, नेता राजेन्द्र राईका लागि सम्भावनाका धेरै ढोका बन्द जस्तै भए । उनीभन्दा धेरै जुनियरहरुले अनेकौं जिम्मेवारी पाए । तर, ओलीले राईलाई लगभग भूमिकाविहीन तुल्याए । एमाले अखिलको दुई पटकसम्म सफल नेतृत्व गरेका राईलाई फरक मत राखेकै आधारमा ओली र उनको टिमले सधैं पाखा लगाउने प्रयास गर्यो ।


गएको भदौ ९ मा एमाले विभाजित बनेपछि राजेन्द्र ओलीको छायाँबाट मुक्त मात्रै बनेनन्, त्यसको दुई महिनापछि प्रदेश १ को मुख्यमन्त्री पनि बन्दैछन् । भीम आचार्यलाई विस्थापित गरेर मुख्यमन्त्री बनेर सपथ लिएका छन् ।


प्रदेश १ को तेस्रो मुख्यमन्त्री बन्ने तयारीमा रहेका राईको जन्म वि।सं। २०२७ असार १५ मा भोजपुरको (किमालुङ गाविस) हाल षडानन्द नगरपालिका १० सुर्केमा भएको थियो ।


बुबा नरेन्द्रबहादुर राई र आमा धनकुमारी राईका ४ सन्तानमध्ये कान्छा सदस्य उनले स्कुलबाटै अनेरास्ववियुमार्फत राजनीतिक यात्रा सुरु गरेका थिए । स्कुलको अखिल इकाई सचिवबाट सुरु भएको उनको राजनीतिक यात्रा त्यही संगठनको राष्ट्रिय अध्यक्ष हुँदै प्रदेश १ को मुख्यमन्त्रीसम्म तन्किएको छ ।


२०४३ मा एसएलसी उत्तिणर् गरेपछि लगातार रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौंमा पढेर त्यहीँबाट राजनीतिशास्त्रमा स्नात्तकोत्तर गरेका उनले हालसम्म ३७ वर्ष पूणर्कालीन राजनीतिमा बिताइसकेका छन् ।


एमाले अखिलको केन्द्रीय सदस्य, सचिव, महासचिव हुँदै उनी पहिलोपटक २०५७ मा अखिल अध्यक्ष बनेका थिए । पहिलो कार्यकाल २०५९ मा सिध्याएका उनी ०५९ देखि ०६१ सम्म पुनः अखिल अध्यक्षमा दोहोरिएका थिए । २०४९ मा रत्न राज्यलक्ष्मी क्याम्पसको स्ववियु सभापति बनेका उनी अध्यक्ष हुँदा एमाले अखिल स्ववियु निर्वाचनमा सबैभन्दा ठूलो विद्यार्थी संगठन बनेको थियो । उनकै नेतृत्वको अखिलले केन्द्रीय कमिटी र राष्ट्रिय सम्मेलनबाट गणतन्त्रमा जानुपर्ने माग गरेको थियो ।


राजा ज्ञानेन्द्रको शासनकालमा विद्यार्थी आन्दोलनको अगुवाई गरेर सडक तताएका राई एमालेमा केपी ओलीको उदयसँगै किनारामा पारिएका थिए । एमालेमा छँदा उनलाई नजिकैबाट चिन्नेहरुका अनुसार ओली र उनको टिमले सधैं पूर्वाग्रहपूर्वक पाखा लगाउने प्रयास गरेका नेता हुन् राई ।


लामो समय अखिल राजनीतिमा सक्रिय उनी पहिलोपटक २०६८ मा केन्द्रीय सदस्य मनोनित भएर पार्टीमा सक्रिय बनेका थिए । २०७१ मा सम्पन्न एमालेको नवौं महाधिवेशनबाट उनी पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।


माधवकुमार नेपालको प्रधानमन्त्रीत्वकालमा राजनीतिक सल्लाहकारको भूमिका निर्वाह गरेका उनी २०७४ को प्रदेशसभामा निर्वाचनमा भोजपुरबाट निर्वाचित भएका थिए । पञ्चायतकालमा ७ महिना केन्द्रीय कारागारमा बन्दी जीवन बिताएका उनले शाहीकालमा पनि ४ महिना प्रहरी तालिम केन्द्रमा बन्दी दिन व्यतित गरेका थिए ।


२०६० सालमा माओवादीले भोजपुरको घरैबाट अपहरण गरेर एक हप्ता कब्जामा राखेका राई १८ वर्षपछि माओवादीकै सक्रिय समर्थनमा मुख्यमन्त्री बनेका छन् ।