अपहरण मुद्दाका कैदी तथा ‘गुन्डा नाइके’ अभिषेक गिरीलाई मोरङ कारागार ल्याइएपछि कैदीबन्दी र उनीहरूका आफन्त आन्दोलित बनेका छन् । कारागार व्यवस्था विभागले गिरीलाई सोमबार राति गाडीमा हालेर सुटुक्क जिल्ला कारागार मोरङ पठाएको थियो ।
मङ्गलबार बिहान ५ बजे गिरीलाई विराटनगर ल्याएपछि कैदी र आफन्तले आज कारागारमा आन्दोलन गरिरहेका छन् । कैदीले छतमाथि चढेर आन्दोलन गरिरहेका छन् भने उनीहरूका आफन्तले कारागारको गेटअगाडि विरोध प्रदर्शन गरिरहेका छन् ।
यसअघि असोज दोस्रो सातातिर गिरीलाई विराटनगर ल्याएमा कारागारभित्र रहेका आफ्ना आफन्त असुरक्षित हुने भन्दै कैदीबन्दीका आफन्तले विरोध प्रदर्शन गरेका थिए । गिरीलाई विराटनगर ल्याउनु हुँदैन भन्दै सयौँको सङ्ख्यामा कारागार अगाडि कैदीबन्दीका आफन्त धर्नामा बसेका थिए । त्यसपछि उनको सरुवा रोकिएको थियो । तर विरोध साम्य भएको मौका छोपेर बलियो पहुँच भएका गिरीलाई विराटनगर ल्याइएको हो ।















