तेह्रथुम-तेह्रथुममा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । तेह्रथुमको फेदाप गाउँपालिका–२ भित्री सडक खण्डमा मङ्गलबार (आज) बिहान उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । 

ट्रक दुर्घटनामा परेर चालक काभ्रेपलान्चोकका २७ वर्षीय रोहित अधिकारीको मृत्यु भएको हो । यस्तै सो दुर्घटनामा सहचालक २४ वर्षीय सुदीप राई घाइते भएको प्रहरीले जनाएको छ । बिहानका राति साँढे १ बजेको समयमा ओसीडाँडादेखि सदरमकुकाम म्याङलुङतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २७७० नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो । 

सो दुर्घटनामा चालक र सहचालक घाइते भएका थिए । घाइते उनीहरूलाई उपचारको लागि जिल्ला अस्पताल म्याङलुङ पठाइएकोमा उपचारको क्रममा चालक अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, सहचालकको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।