चर्को विरोधका बीच अपहरण मुद्दाका कैदी तथा ‘गुन्डा नाइके’ अभिषेक गिरीलाई सुटुक्क विराटनगर ल्याइएको छ । कारागारमा रहेका कैदीका आफन्तले विरोध गरिरहँदा कारागार व्यवस्था विभागले मङ्गलबार बिहान गिरीलाई जिल्ला कारागार मोरङ ल्याइएको हो । 

गत असोज दोस्रो साता गिरीलाई विराटनगर ल्याएमा कारागारभित्र रहेका आफ्ना आफन्त असुरक्षित हुने भन्दै कैदीबन्दीका आफन्तले विरोध प्रदर्शन गरेका थिए । तर विरोधकै बीच अपहरण आरोपमा जेलमा रहेका गिरीलाई मङ्गलबार बिहान ५ बजे विराटनगर ल्याइएको मोरङ कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलले जानकारी दिए । 

विरोध साम्य भएको मौका छोपेर विभागले सोमबार बेलुका गाडीमा राखेर गिरीलाई विराटनगर पठाएको हो । अब गिरीलाई अब चौकीदार बनाइनेछ । नौ सय कैदी–बन्दी रहेको मोरङ जिल्ला कारागार चौकीदारका लागि राम्रो आम्दानीको स्रोत हो । चौकीदारले कारागारभित्रको व्यापारबाट दैनिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छन् । 

गिरी यसअघि पनि मोरङ कारागारको चौकिदार थिए । तर मोरङ कारागारभित्र कैदीबन्दीलाई अमानवीय व्यवहार गरेको र कारागारभित्रैबाट विराटनगरमा गुन्डागर्दी र फिरौती असुल गरेको गुनासो बढेपछि २०७४ साल चैत २३ मा विराटनगरबाट डिल्लीबजार कारागार सरुवा गरिएको थियो । उनीमाथि मोरङ जेलबाटै फिरौती र व्यवसायीसँग असुली धन्दा चलाएको आरोपमा थियो ।